मेलम्ची : मेलम्ची नगरपालिका वडा नम्बर ११ को आयोजनामा महिला सशक्तीकरण, लैङ्गिक हिंसा न्यूनीकरण तथा आर्थिक विकाससम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानको प्रमुख आतिथ्य रहेको थियो भने वडा नम्बर ११ का अध्यक्ष चन्द्रबहादुर तामाङको अध्यक्षता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि उमा प्रधानले महिला सशक्तीकरण बिना समग्र समाजको विकास सम्भव नहुने बताउनुभयो । उहाँले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै लैङ्गिक हिंसा अन्त्यका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो । समाजमा अहिले पनि महिलाहरुको पिडा निकै दर्दनाक रहेको उल्लेख गर्दै प्रधानले ति पिडाबाट मुक्त बनाउनु हरेक नागरिकको दायित्व रहेको उल्लेख गर्नुभयो ।

त्यसैगरी, सभाध्यक्ष तथा वडा अध्यक्ष चन्द्रबहादुर तामाङले महिलाको क्षमता अभिवृद्धि र चेतना विकासका लागि यस्ता अभिमुखिकरण कार्यक्रम निरन्तर सञ्चालन गरिने बताउनुभयो । उहाँले वडाले महिलामैत्री नीति तथा कार्यक्रमलाई प्राथमिकता दिएको उल्लेख गर्दै महिलाको सक्रिय सहभागिताले मात्रै दिगो विकास सम्भव हुने धारणा राख्नुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य प्रतिमा धितालले व्यक्त गर्नुभएको थियो । प्रशिक्षकद्वय रेखा दुलाल र सुनिता सेढाईले सहजीकरण गर्नुभएको उक्त कार्यक्रम अम्बिका डोटेलले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा सहभागी महिलाहरूले यस्ता कार्यक्रमले आफूहरूलाई सचेत र आत्मनिर्भर बन्न प्रेरणा मिलेको प्रतिक्रिया दिएका थिए ।






