काठमाडौं — त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम दिएको छ। अतिक्रमित जग्गा फिर्ता ल्याउने अभियानअन्तर्गत वैशाख ४ गते जारी सूचनापछि त्रिविले १८ वटा संघसंस्था तथा निकायलाई जग्गा खाली गर्न पत्राचार गरेको हो, जसमा नेपाल क्रिकेट संघ पनि परेको छ।
त्रिवि–क्यानबीचको सम्झौता यही वैशाख मसान्तमा सकिन लागेकाले यसपटक नवीकरण नहुने संकेत त्रिविले दिएको छ। विश्वविद्यालयका पदाधिकारीहरूले ठूला खेल हुँदा अध्ययन–अनुसन्धान प्रभावित भएको भन्दै सम्झौता थप्ने पक्षमा नरहेको बताएका छन्।
क्यानका प्रवक्ता छुम्बी लामाले भने हालसम्म पत्र प्राप्त नभएको बताएका छन् । यद्यपि क्यान बोर्ड बैठकले सम्झौता अवधि थपका लागि सरकारमार्फत पहल गर्ने निर्णय गरिसकेको छ ।
सरकारले त्रिवि मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने गुरुयोजना स्वीकृत गरिसकेको भए पनि मैदान खाली गर्ने त्रिविको निर्णयपछि निर्माण प्रक्रिया अन्योलमा परेको छ।







