काठमाडौं — नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बेलाई सर्वसम्मत चयन गर्ने निर्णय गरेको छ। उक्त निर्णय अब बस्ने संसदीय दलको बैठकबाट अनुमोदन गरिने तयारी गरिएको छ।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनपछि कांग्रेसले पहिलोपटक सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्न लागेको हो। आङ्देम्बे कांग्रेसका समानुपातिक सांसद हुन्।
सुरुमा संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे, अर्जुननरसिंह केसी र मोहन आचार्य प्रमुख दाबेदार मानिएका थिए। तर पार्टीभित्र एकताको सन्देश दिन आङ्देम्बेलाई नेतृत्वमा ल्याउनुपर्ने आवाज बलियो बनेपछि सर्वसम्मत निर्णयतर्फ सहमति जुटेको बताइएको छ।
उपसभापति विश्वप्रकाश शर्मा लगायतका नेताहरूले पनि पार्टीको आन्तरिक एकता सुदृढ बनाउन आङ्देम्बेलाई दलको नेता बनाउनुपर्ने धारणा राख्दै आएका थिए। शेरबहादुर देउवा र शेखर कोइराला पक्षका नेताहरूको समर्थनसमेत रहेकाले ३८ सदस्यीय संसदीय दलमा आङ्देम्बेको पक्षमा बहुमत पुगेको स्रोतले जनाएको छ।
आङ्देम्बे १४ औँ महाधिवेशनमा देउवा पक्षबाट सहमहामन्त्री निर्वाचित भएका थिए। उनले आफू कुनै गुटको लेबलमा नरहने र सभापति गगन थापाको स्पिरिट अनुसार काम गर्न तयार रहेको सार्वजनिक धारणा राख्दै आएका छन्।







