सिन्धुपाल्चोक — यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा सिन्धुपाल्चोक जिल्लाका सात वटा विद्यालयमा शून्य नतिजा आएको छ। ती विद्यालयका साधारण धारतर्फ सहभागी सबै विद्यार्थी ननग्रेडेड (NG) भएपछि शैक्षिक गुणस्तरबारे चिन्ता व्यक्त गरिएको छ।
शिक्षा विकास तथा समन्वय इकाइ सिन्धुपाल्चोकका अनुसार जिल्लाका लिसंखुपाखर, चौतारा साँगाचोकगढी, बलेफी, भोटेकोशी र हेलम्बु गाउँपालिकाका विभिन्न विद्यालयमा कुनै पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन्।
शून्य नतिजा आएका विद्यालयहरूमा लिसंखुपाखरका बुद्धोदय माध्यमिक विद्यालय र धर्मोदय माध्यमिक विद्यालय, चौतारा साँगाचोकगढीको वनदेवी माध्यमिक विद्यालय चौतारा, बलेफीको वनसाँघु माध्यमिक विद्यालय, भोटेकोशीका मार्मिङ माध्यमिक विद्यालय र भिमसेन माध्यमिक विद्यालय तथा हेलम्बुको हेलम्बु बोधिसत्व मोडल स्कुल रहेका छन्।
यीमध्ये केही विद्यालयमा प्राविधिक धारतर्फ पनि पठनपाठन भइरहेको छ। प्राविधिक धारमा भने केही विद्यार्थी मात्र ग्रेडेड भएका छन्, तर साधारण धारमा सबै विद्यार्थी असफल भएका हुन्।
जिल्लाभर एसईई २०८२ मा १२९ सामुदायिक, ११ संस्थागत र ३ खुला विद्यालय गरी कुल १४३ विद्यालय सहभागी भएका थिए।







