काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष पदका लागि निवर्तमान उपाध्यक्ष सुरकृष्ण वैद्यलाई अघि सार्ने विषयमा व्यवसायी वृत्तमा लबिङ सुरु भएको छ। महासंघभित्र अनुभवी र नेतृत्व क्षमता भएका व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने आवाज उठिरहेका बेला वैद्यको नाम अग्रपंक्तिमा चर्चामा आएको हो।

काभ्रे जिल्ला उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्दै महासंघको केन्द्रीय सदस्य हुँदै उपाध्यक्षसम्मको जिम्मेवारी निर्वाह गरिसकेका वैद्य व्यवसायीमाझ लोकप्रिय मानिन्छन्। जिल्ला तहबाट नेतृत्व यात्रा सुरु गरेका कारण उनी तल्लो तहका व्यवसायीका समस्या, आवश्यकता र चुनौतीसँग नजिक रहेको व्यवसायीहरूको भनाइ छ।
व्यवसायीहरूले स्थानीय र केन्द्रीय दुवै तहमा अनुभव हासिल गरेका वैद्य महासंघको नेतृत्वका लागि उपयुक्त व्यक्ति भएको बताएका छन्। विशेषगरी निजी क्षेत्र अहिले विभिन्न चुनौतीसँग जुधिरहेका बेला अनुभवी र समन्वयकारी नेतृत्व आवश्यक रहेको उनीहरूको धारणा छ।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले सुरकृष्ण वैद्य नेतृत्व क्षमता भएका व्यवसायी रहेको बताए। उनले भने, “जिल्ला तहदेखि केन्द्रसम्म काम गरेर अनुभव हासिल गर्नुभएको छ। स्थानीय र केन्द्रीय दुवै क्षेत्रमा अब्बल भएकाले अहिले महासंघलाई उहाँजस्तो नेतृत्व आवश्यक छ।”
महासंघको बाँकी नेतृत्व चयन प्रक्रिया चलिरहेका बेला वरिष्ठ उपाध्यक्ष पदका लागि विभिन्न नाम चर्चामा रहे पनि वैद्यको पक्षमा समर्थन बढ्दै गएको बताइएको छ।






