काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले मुलुकको आर्थिक गतिविधिमा देखिएको सुस्तता, लगानी विस्तारमा आएको संकोच तथा बैंकिङ क्षेत्रमा थुप्रिएको तरलताको प्रभावकारी उपयोगबारे वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूसँग गहन छलफल गरेका छन्।
मंगलबार अर्थ मन्त्रालयमा आयोजित बैठकमा मन्त्री वाग्लेले अर्थतन्त्रको वास्तविक अवस्था बुझ्न बैंकिङ क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए। उनका अनुसार बजारको आत्मविश्वास, लगानीकर्ताको सोच, व्यवसायिक वातावरण र आर्थिक गतिविधिको प्रत्यक्ष प्रभाव सबैभन्दा पहिले बैंकिङ क्षेत्रमै देखिने भएकाले सीईओहरूको सुझाव सरकारका लागि महत्वपूर्ण छ।
निजी क्षेत्रका उद्योगी–व्यवसायीसँग संवाद गरेलगत्तै बैंकका नेतृत्वकर्तासँग छलफल गरेका मन्त्री वाग्लेले बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारका कार्यक्रम कार्यान्वयनमा केन्द्रित रहेको बताए। उनले हाल भइरहेका कानुनी, नीतिगत र संस्थागत सुधारहरू पर्याप्त छन् वा थप सुधार आवश्यक छ भन्ने विषयमा समेत बैंकिङ क्षेत्रको धारणा मागे।
बैठकमा मन्त्री वाग्लेले कम ब्याजदरका बाबजुद कर्जाको माग अपेक्षित रूपमा बढ्न नसक्नु, बैंकिङ प्रणालीमा रहेको अधिक तरलता उत्पादनशील क्षेत्रमा प्रवाह हुन नसक्नु तथा निजी क्षेत्र लगानी विस्तारमा किन अनिच्छुक देखिएको छ भन्ने विषयमा चासो व्यक्त गरेका थिए ।
उनले अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्याउन सरकार र बैंकिङ क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै लगानी, उत्पादन र रोजगारी वृद्धि गर्ने अभियानमा बैंकहरूले थप सक्रिय भूमिका खेल्नुपर्ने बताए ।
बैठकमा सहभागी सीईओहरूले पनि अर्थतन्त्रका विद्यमान चुनौती, लगानी वातावरण, कर्जा प्रवाह तथा निजी क्षेत्रको मनोबलसँग सम्बन्धित विषयमा आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए ।







