काठमाडौं : नेपाल राष्ट्र बैंकका अनुभवी अधिकारी दीर्घबहादुर रावल अब डेपुटी गभर्नरको भूमिकामा देखिने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई डेपुटी गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो ।
अछामका रावलले २०६२ माघदेखि राष्ट्र बैंकमा सेवा सुरु गरेका थिए । बैंक तथा वित्तीय संस्था सुपरिवेक्षण विभागको प्रमुखका रूपमा कार्यरत रहँदै आएका उनले बैंकिङ क्षेत्रको नियमन, सुपरिवेक्षण र व्यवस्थापनमा लामो अनुभव हासिल गरेका छन् ।
करिब २० वर्ष राष्ट्र बैंकमै रहेर काम गरेका रावलको नियुक्तिसँगै केन्द्रीय बैंकको डेपुटी गभर्नरको दोस्रो रिक्त पद पनि पूर्ति भएको छ । यसअघि पाँच वर्षे कार्यकाल पूरा गरेका नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रको अवकाशपछि दुवै डेपुटी गभर्नर पद रिक्त थियो ।
सरकारले यसअघि एउटा पदमा किरण पण्डितलाई नियुक्त गरिसकेको थियो । अर्को पदमा रावललाई ल्याइएको हो ।
राष्ट्र बैंक ऐनअनुसार गभर्नरको सिफारिसमा मन्त्रिपरिषद्ले डेपुटी गभर्नर नियुक्त गर्ने व्यवस्था छ । नियुक्त डेपुटी गभर्नरको कार्यकाल पाँच वर्ष रहनेछ ।







