मेलम्ची : रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले हुत्तराज–अर्धचन्द्र जनहितकारी संस्थाले २ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।
संस्थाको हालै बसेको कार्यसमिति बैठकले प्रधानमन्त्री राहत कल्याण कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो ।
मित्रराष्ट्र चीनको तिब्बत क्षेत्रबाट अनायास आएको बाढीका कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै संस्थाले घटनामा परी ज्यान गुमाएका सम्पूर्णप्रति श्रद्धाञ्जलीसमेत अर्पण गरेको छ ।
संस्थाका अध्यक्ष मुकुन्दप्रसाद पाण्डेद्वारा जारी विज्ञप्तिमा बाढीपीडितका लागि केही हदसम्म भए पनि राहत पुग्ने उद्देश्यले तत्काल २ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको उल्लेख छ ।







