काठमाडौं : रसुवा, नुवाकोटलगायत आसपासका जिल्लामा बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले नव सिर्जनशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ ।
संस्थाका अध्यक्ष विश्वनाथ अर्यालका अनुसार सहकारीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरेको हो । प्राकृतिक विपत्तिको कठिन अवस्थामा प्रभावित परिवारलाई राहत उपलब्ध गराउन तथा आवश्यक सामग्री व्यवस्थापनमा केही भए पनि योगदान पुग्ने विश्वास संस्थाले व्यक्त गरेको छ ।
नव सिर्जनशील सहकारीले आर्थिक कारोबारसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै आएको छ । संस्थाले विगतदेखि नै विभिन्न सामाजिक तथा सामुदायिक गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ ।
सहकारीले ज्येष्ठ नागरिक सम्मान, सदस्यका बालबालिकालाई अध्ययन प्रोत्साहन कार्यक्रमलगायतका गतिविधि सञ्चालन गर्दै आएको छ । यस्ता कार्यक्रममार्फत सदस्य र समुदायसँगको सम्बन्ध थप मजबुत बनाउँदै सामाजिक क्षेत्रमा संस्थाको उपस्थिति देखाउँदै आएको छ ।
सहकारीका अनुसार सदस्यको आर्थिक उन्नतिसँगै समुदायको हित र सामाजिक सेवामा योगदान पुर्याउने उद्देश्यले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
विपद्को समयमा उद्धार कोषमा गरेको सहयोगसँगै सामाजिक क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएको नव सिर्जनशील सहकारीले समुदायमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको देखिन्छ ।








