सिन्धुपाल्चोक : भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङसहितका जिल्लामा ठूलो जनधनको क्षति भएपछि विपद् प्रभावितको सहयोगका लागि सिन्धुपाल्चोकको एक खानेपानी उपभोक्ता समितिले आर्थिक सहयोग गरेको छ ।
जुगल थालखर्क होल्चे खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले ५ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग गरेको हो ।
समितिका अध्यक्ष सुवाष कर्माचार्यले समितिका पदाधिकारीहरूको उपस्थितिमा उक्त रकमको चेक सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेलाई हस्तान्तरण गरेका हुन् ।
भोटेकोशी नदीमा आएको बाढी तथा अन्य प्राकृतिक विपद्का कारण सिन्धुपाल्चोकसहित विभिन्न जिल्लामा ठूलो क्षति भएको भन्दै संकटको समयमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्नु सबैको दायित्व भएको समितिले जनाएको छ ।
चेक बुझ्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले विपद्को समयमा समितिले गरेको सहयोगको प्रशंसा गर्दै अन्य संघसंस्था तथा नागरिकलाई पनि आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न आग्रह गरे । उनले सहयोगका लागि समितिका पदाधिकारीलाई धन्यवाद व्यक्त गरे ।
चौतारा सदरमुकाम तथा आसपासका क्षेत्रमा खानेपानी सेवा उपलब्ध गराउँदै आएको समितिको यो सहयोगले विपद् प्रभावितको उद्धार तथा राहतमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।







