काठमाडौं : रसुवा जिल्लामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनरुत्थानका लागि गोकर्णेश्वर लाइट एकेडेमीले २ लाख रुपैयाँभन्दा बढी सहयोग गर्ने भएको छ ।
विपद्को सुरुआतमै विद्यालयका विद्यार्थीहरूले स्वतःस्फूर्त रूपमा राहत अभियान सञ्चालन गरी ८३ हजार ९१० रुपैयाँ संकलन गरेका थिए। विद्यार्थीहरूको अभियानमा साथ दिँदै विद्यालयका शिक्षक तथा कर्मचारीले आफ्नो तलबबाट कट्टा गरी थप ५२ हजार रुपैयाँ सहयोग गरेका छन् ।
विद्यालयका प्रिन्सिपल सौर्यनाथ आचार्यका अनुसार विद्यार्थी, शिक्षक तथा कर्मचारीबाट संकलित रकममा विद्यालयका तर्फबाट आवश्यक रकम थप गरी कुल १ लाख ५० हजार रुपैयाँ प्याब्सनको खातामा जम्मा गरिसकिएको छ । उक्त रकम प्याब्सनमार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरिनेछ ।
यसैगरी, गोकर्णेश्वर नगरपालिकाले सञ्चालन गरेको राहत अभियानमा पनि विद्यालयले कम्तीमा ५० हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। यससँगै विद्यालयको राहत सहयोग २ लाख रुपैयाँभन्दा बढी पुग्नेछ ।
विपद्को समयमा विद्यार्थीहरू स्वयं अग्रसर भएर सहयोग अभियानमा जुट्नुले सामाजिक उत्तरदायित्वप्रतिको विद्यालयको प्रतिबद्धता समेत देखाएको आचार्यले बताउनुभयो ।
विद्यालय प्रशासनले राहत अभियानमा सहयोग गर्ने सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीप्रति धन्यवाद व्यक्त गरेको छ ।
‘सानो सहयोग, ठूलो आशा—विपदमा एकता नै हाम्रो शक्ति हो’ भन्ने भावनासहित गरिएको सहयोगले बाढीबाट प्रभावित परिवारलाई राहत र हौसला पुग्ने विद्यालयको विश्वास छ ।







