काठमाडौं : बाढीपहिरोका कारण सडक सञ्जाल प्रभावित भएपछि काठमाडौंमा ग्यास आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । आपूर्ति सहज बनाउन नेपाल आयल निगमले व्यावसायिक प्रयोजनमा प्रयोग हुने ग्यासको ढुवानी जिम्मेवारी व्यवसायीलाई नै दिने निर्णय गरेको छ ।
नयाँ व्यवस्थाअनुसार होटल, रेस्टुरेन्ट तथा अन्य व्यावसायिक प्रतिष्ठानले आवश्यक ग्यास सम्बन्धित उद्योगबाट आफैँ ढुवानी गरेर ल्याउनुपर्नेछ । सडक अवरोधका कारण नियमित रूपमा ग्यासका बुलेट काठमाडौं ल्याउन नसकिएपछि निगमले यस्तो व्यवस्था गरेको हो ।
निगमका अनुसार काठमाडौंमा ग्यास आपूर्ति गर्ने २२ उद्योगमध्ये १८ वटा उद्योगसम्म ग्यास बुलेट पुग्न सकेका छैनन् । विभिन्न राजमार्गमा बाढी, पहिरो तथा अन्य अवरोधका कारण ढुवानी प्रभावित भएको हो ।
आपूर्ति सीमित भएपछि निगमले सर्वसाधारण, विद्यार्थी तथा अत्यावश्यक सेवाका लागि ग्यासलाई प्राथमिकतामा राखेको जनाएको छ । उपलब्ध ग्यासलाई आवश्यकता र प्राथमिकताका आधारमा वितरण गरिने निगमको भनाइ छ ।
व्यावसायिक क्षेत्रले भने अब उद्योगबाट ग्यास उठाउने र काठमाडौंसम्म ल्याउने व्यवस्था आफैँ मिलाउनुपर्ने भएको छ । सडकको अवस्था सामान्य नभएसम्म आपूर्ति व्यवस्थापनमा थप चुनौती रहन सक्ने निगमले जनाएको छ।







