काठमाडौं : लामो अवरोध पछि सञ्चालनमा आएको तातोपानी नाका फेरि प्रभावित भएको छ । चिनियाँ पक्षले कार्गो आवागमन अस्थायी रूपमा रोकेपछि चीनबाट नेपाल तर्फ सामान बोकेका कन्टेनर आउन बन्द भएका छन् ।
साउन १ गतेदेखि नेपाल तर्फको सडक बिग्रिए पछि प्रभावित भएको नाका सडक मर्मतपछि भदौ १२ गतेबाट केही समय सञ्चालनमा आएको थियो । त्यस दिन आठ वटा कन्टेनर नेपाल भित्रिए पनि त्यसपछि भने थप कन्टेनर आएका छैनन् ।
तातोपानी भन्सार कार्यालयका प्रमुख अधिकृत दीपेन्द्रप्रकाश गिरीका अनुसार चिनियाँ पक्षले कार्गो आवागमन अस्थायी रूपमा रोकिएको जनाएको छ। नाका पुनः कहिले खुल्छ भन्नेबारे भने मिति तोकिएको छैन ।
नेपालतर्फ सडकमा अझै पहिरो तथा भौतिक क्षतिको समस्या रहेकाले सीमाक्षेत्रमा काम गर्न चिनियाँ पक्षलाई समेत कठिनाइ भएको हुन सक्ने नेपाली अधिकारीहरूको अनुमान छ । चिनियाँ भन्सारका केही कर्मचारीलाई सीमा क्षेत्रबाट खासातर्फ सारिएको समेत बताइएको छ ।
यसअघि भोटेकोशीमा आएको बाढीले रसुवागढी नाकामा क्षति पुर्याएपछि केरुङमा रोकिएका सामान तातोपानी हुँदै ल्याउने तयारी व्यवसायीले गरेका थिए । तर तातोपानीबाट समेत कार्गो रोकिएपछि चीनसँगको स्थल व्यापारका लागि तत्काल कोरला नाकामा निर्भर हुनुपर्ने अवस्था देखिएको छ ।
नेपाली पक्षले चिनियाँ अधिकारीसँग मितेरी पुलको बीच भागमा बसेर भए पनि छलफल गर्न प्रस्ताव गरेको छ । चिनियाँ पक्षको जवाफपछि नाकाको अवस्थाबारे थप निर्णय हुने बताइएको छ ।







