सिन्धुपाल्चोक : पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोताङस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पाँचपोखरीमा भक्तजनमाथि भएको खुकुरी प्रहारको घटनाप्रति स्थानीय राजनीतिक दल तथा जनप्रतिनिधिहरूले गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको भर्त्सना गरेका छन् ।
पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टासी लामा, उपाध्यक्ष सुनिता अधिकारीसहित विभिन्न राजनीतिक दलका स्थानीय प्रतिनिधिहरूले संयुक्त विज्ञप्ति जारी गर्दै पवित्र धार्मिक तथा पर्यटकीयस्थलमा भएको घटनाले आफूहरूको हृदयमा गम्भीर चोट पुगेको बताएका छन् ।
भदौ ११ गते मेलाको क्रममा एक व्यक्तिले खुकुरी प्रहार गर्दा पाँच जना भक्तजन घाइते भएका थिए । घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विज्ञप्तिमा पीडित परिवारप्रति सहानुभूति व्यक्त गरिएको छ ।
संयुक्त विज्ञप्तिमार्फत घटनामा संलग्न दोषीलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न प्रशासनसँग पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ ।
त्यस्तै, आगामी दिनमा यस्ता अमानवीय घटना दोहोरिन नदिन गाउँपालिका तथा सम्बन्धित सबै पक्षलाई पूर्ण रूपमा सजग र सक्रिय हुन आग्रह गरिएको छ । पाँचपोखरी क्षेत्रको दीर्घकालीन सुरक्षा व्यवस्थापन, स्वास्थ्य प्रबन्ध तथा पर्यटक सुरक्षाका लागि सामूहिक एकतासहित अघि बढ्ने प्रतिबद्धता पनि विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा गाउँपालिका अध्यक्ष टासी लामा, उपाध्यक्ष सुनिता अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका स्थानीय सभापति सुन्दर सापकोटा, नेपाली कांग्रेसका प्रतिनिधि प्रवीण थापा, नेकपा एमालेका अध्यक्ष दोकदाेक तामाङ, नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष दिलबहादुर वाइबा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष नारायणजी सापकोटा तथा पाँचपोखरी संरक्षण क्षेत्र विकास समितिका अध्यक्ष दुलु लामाको हस्ताक्षर रहेको छ ।








