काठमाडौं :रसुवागढीमा आएको बाढीले एउटा व्यापारिक नाका मात्रै बन्द गरेको छैन, यसले नेपाली बजारको चाडपर्व लक्षित आपूर्ति व्यवस्थामै धक्का दिएकाे छ । भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीले नेपाल–चीन व्यापारको प्रमुख स्थलमार्ग रसुवागढीमा भन्सार क्षेत्र, सडक र मालवाहक कन्टेनरमा ठूलो क्षति पुर्याएको छ । व्यवसायीका अनुसार करिब ४ सयदेखि ५ सय कन्टेनर तथा ट्रक क्षतिग्रस्त वा बेपत्ता भएका छन् ।
सबैभन्दा ठूलो असर भने दसैं–तिहारलाई लक्षित गरी ल्याइएका सामानमा परेको छ । लत्ताकपडा, जुत्ताचप्पल, कस्मेटिक्स, इलेक्ट्रोनिक्सलगायत सामग्रीसहितको क्षति प्रारम्भिक रूपमा १० अर्ब रुपैयाँभन्दा बढी अनुमान गरिएको छ ।

दुई मुख्य नाका बन्द, विकल्प महँगो
रसुवागढीसँगै तातोपानी नाका पनि बन्द रहेपछि चीनबाट सामान ल्याउने व्यवसायीका लागि विकल्प साँघुरिएको छ। केही आयातकर्ताले मुस्ताङको कोरला नाकातर्फ सामान ‘रि–रुट’ गर्न थाले पनि यसबाट ढुवानी लागत र समय दुवै बढ्ने अवस्था छ ।
यसको असर अन्ततः उपभोक्तासम्म पुग्ने देखिएको छ । चाडपर्व नजिकिँदै गर्दा आपूर्ति सहज हुन नसके बजारमा चिनियाँ सामानको अभाव देखिनुका साथै मूल्यसमेत बढ्न सक्ने व्यवसायीहरूको आकलन छ ।






