काठमाडौं : नबिल बैंकले शेयरधनीलाई आकर्षक प्रतिफल दिने प्रस्ताव अघि सारेको छ । बैंकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट साधारण शेयरधनीलाई कुल १५.८० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
आइतबार बसेको सञ्चालक समितिको ७१२औँ बैठकले ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकले बोनस शेयरका लागि १ अर्ब ३५ करोड २८ लाख रुपैयाँभन्दा बढी तथा नगद लाभांशका लागि २ अर्ब ९२ करोड २१ लाख रुपैयाँभन्दा बढी रकम छुट्याएको जनाएको छ । यी रकममा लाग्ने करसमेत समावेश गरिएको छ ।
त्यसैगरी, ५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको अग्राधिकार शेयरतर्फ पनि बैंकले ८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । यसका लागि २३ करोड ३४ लाख रुपैयाँभन्दा बढी रकम छुट्याइएको छ ।
बैंकले वित्तीय उपलब्धि र व्यवसायको दिगो वृद्धिलाई आधार बनाएर शेयरधनीलाई उचित प्रतिफल दिने उद्देश्यले लाभांश प्रस्ताव गरिएको जनाएको छ ।
यद्यपि, प्रस्तावित लाभांश तत्काल वितरण भने हुनेछैन । राष्ट्र बैंकको स्वीकृति र साधारणसभाको अनुमोदनपछि मात्रै लाभांश वितरण हुनेछ ।







