काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज प्रतिनिधिसभा बैठकमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट उत्पन्न अवस्थाबारे सम्बोधन गर्ने भएका छन् ।
रास्वपाका एक सांसदका अनुसार लामिछानेले बाढीपछि प्रभावितहरूको खोजी तथा उद्धार, राहत वितरण र पुनर्स्थापनाका विषयमा संसद्मा धारणा राख्नेछन् ।
भोटेकोशी बाढीबाट भएको जनधनको क्षति तथा प्रभावितको अवस्थाबारे सरकारको ध्यानाकर्षण गराउने तयारी लामिछानेले गरेका हुन् ।
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यस्तै, मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि मन्त्री गौतमले प्रस्तुत गर्नेछिन् ।
संसद् सचिवालयका अनुसार एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्ताव पनि बैठकमा पेस हुने सम्भावित कार्यसूचीमा छ ।







