काठमाडौं : नबिल बैंकले एसियाली विकास बैंक (एडीबी)बाट ‘लिडिङ पार्टनर बैंक’ अवार्ड प्राप्त गरेको छ ।
एडीबीको १२औँ वार्षिक ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (टीएससीएफपी) अन्तर्गत बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो ।
एसिया तथा प्रशान्त क्षेत्रमा व्यापार तथा आपूर्ति शृंखला वित्तको विकास, साझेदारी सुदृढीकरण तथा व्यवसाय र आर्थिक वृद्धिमा पुर्याएको योगदानको कदरस्वरूप नबिल बैंकलाई अवार्ड प्रदान गरिएको एडीबीले जनाएको छ ।
अवार्ड पाएपछि बैंकले यस सम्मानले एसिया तथा प्रशान्त क्षेत्रमा व्यापार तथा आपूर्ति शृंखला वित्तको विस्तारप्रतिको आफ्नो प्रतिबद्धता थप बलियो बनाएको जनाएको छ ।
क्षेत्रीय साझेदारीलाई थप सुदृढ गर्दै व्यवसाय तथा आर्थिक गतिविधिको विकासमा योगदान गर्न अवार्डले थप प्रेरणा मिलेको बैंकको भनाइ छ ।
अवार्ड समारोह ग्लोबल ट्रेड रिभ्यु (जीटीआर) एसिया सम्मेलनसँगै आयोजना गरिएको थियो। कार्यक्रममा एसिया तथा प्रशान्त क्षेत्रका विभिन्न देशका व्यापार वित्त क्षेत्रका विज्ञ, साझेदार बैंक तथा उद्योग क्षेत्रका सरोकारवालाको सहभागिता थियो ।







