अब असार सकिएर श्रावण महिना सुरु भएको छ । यस महिनामा धेरै वर्षा हुने भएकोले यसलाई बर्षाऋतुकाे पहिलो महिना पनि भनिन्छ । यसै महिनाका विभिन्न तिथिमा कामिका एकादशी,
घण्टाकर्ण चतुर्दशी, नागपञ्चमी, पुत्रदा एकादशी, रक्षाबन्धन आदि थुप्रै महत्त्वपूर्ण चाडहरू पर्दछन् । यो भगवान् शिवको महिना हो, यसै कारणले यस महिनाको हरेक सोमवार अविवाहित महिलाहरूले राम्रो वर पाउँ भनेर र विवाहितहरूले दीर्घ दाम्पत्य जीवनका लागि शिवको आराधना गर्ने गर्दछन् ।

श्रावण महिना हाम्रो पञ्चाङ्ग अनुसार वर्षको चौथो महिना हो जुन असार सकिएपछि सुरु हुन्छ । यो महिना सनातन हिन्दु धर्म र संस्कृति अनुसार अत्यन्तै पवित्र, फलदायी र पुण्यदायी मानिन्छ । विशेषतः भगवान् शिवका भक्तहरूका लागि त यो महिना आध्यात्मिक साधना, भक्ति, उपवास, आराधना र सुदृढ संकल्पको अनुपम अवसर हो ।
श्रावण महिनाको सबैभन्दा विशेष पक्ष हो वर्षा । असारमा सुरु भएको वर्षा श्रावणमा अझ तीव्र हुन्छ । पानीकाे समुचित मात्राले कृषिकाे भरपर्दो आधार तयार हुन्छ । किसानहरूका लागि यो समय खेतबारी सिँचाइ गर्ने, धान -काेदाे रोप्ने तथा बोटबिरुवा बढाउने उपयुक्त समय हो । याे महिना सिङ्गो प्रकृति हरियालीमा ढपक्कै ढाकिएको हुन्छ । धराका सारा वनस्पति जीवनले उल्लासित हुन्छन् । वन्यजन्तुहरू आनन्दीत हुन्छन् र मानव हृदयमा शान्ति, आनन्द र श्रद्धा उत्पन्न हुन्छ ।
पुराणहरूमा उल्लेख भएअनुसार समुद्र मन्थन गर्दा निस्किएको कालकुट विषलाई भगवान् शिवले आफ्नो कण्ठमा धारण गर्नुभयो । त्यस विषको प्रभाव कम गर्न देवताहरूले उहाँलाई जल चढाए । यही प्रसङ्गलाई आधार मानेर श्रावण महिनामा शिवलाई जल, दुध, दही , घिउ , मह , सख्खर, बेलपत्र, धतूराे, आँक, चन्दन आदि चढाइन्छ । सोमवारले यस महिनामा विशेष महत्त्व राख्दछ ।
श्रावण महिनाभर प्रत्येक सोमवार “श्रावण सोमवारे व्रत” व्रतव्रतिनहरूले अर्चनासहित गर्दछन् । याे महिना व्रत बसेर शिवको आराधना गर्दा मनोकांक्षा पूर्ण हुन्छ । विशेषगरी अविवाहित युवतीहरू योग्य, धर्मात्मा वर पाउनका निम्ति यो व्रत राख्छन् भने विवाहित महिलाहरू पतिको दीर्घायु र पारिवारिक समृद्धिका लागि श्रद्धापूर्वक व्रत बस्दछन् । यसै कारण श्रावणलाई “भगवान् शिवको महीना” भनिएको हो ।
श्रावण महिनामा सनातन हिन्दु धर्मका अति महत्त्वपूर्ण चाडहरू पर्दछन् । यिनै चाडपर्वहरूले यो महिनालाई अझ गौरवशाली बनाउँछन् ।
श्रावण शुक्ल पञ्चमीका दिन नागहरूको पूजा गरिन्छ । पौराणिक कथनअनुसार नागहरू पृथ्वीको आधार हुन् र उनीहरूको क्रोधबाट बच्न, घर परिवारमा सुख, सन्तान र शान्तिको कामना गर्दै नागलाई दूध, अक्षता, दुबो, फूल चढाएर पूजन गरिन्छ ।
श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा वा रक्षा बन्धन पर्व धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण छ । यस दिन ब्राह्मणहरूले यज्ञ गर्दै पुरानो जनै फेर्दछन्, पण्डितहरूबाट रक्षा सूत्र बाँध्ने चलन छ । साथै दिदीबहिनीहरूले दाजुभाइहरूलाई राखी बाँधेर सुरक्षाको कामना गर्ने रक्षा बन्धन परम्परा पनि यही दिन देखिन्छ ।
श्रावण महिनाले समाजमा धार्मिक चेतनाको जागरण गराउँछ । मठमन्दिरहरूकाे महत्त्व बढ्ने , घरघरमा शिवका भजन गुञ्जिने, धार्मिक कथा–कीर्तनहरू हुने, तीजका पूर्वतयारीहरू देखिने आदि गतिविधिले समाजलाई भक्तिमय बनाउँछ । महिला समुदायमा विशेष रूपमा तीजको रौनक सुरु भइसकेको हुन्छ, जसले सम्वाद, सहकार्य र समर्पणको वातावरण निर्माण गर्दछ ।
श्रावण केवल धार्मिक वा प्राकृतिक महत्त्व बोकेको महिना मात्र होइन, यसले मानव आत्मालाई पनि उज्यालो पार्छ । व्रत बस्दा शरीर शुद्ध हुन्छ, उपासना गर्दा मन शान्त हुन्छ, सेवा गर्दा आत्मा सन्तुष्ट हुन्छ । यही महिनामा जल, अन्न, वस्त्र, छाता, औषधी आदिको दान अत्यन्त पुण्यदायी मानिन्छ। यसै महिनामा शिवपुराणको पाठ, महामृत्युञ्जय जप वा रुद्राभिषेक गर्ने चलन पनि छ । जसले आत्मबल र आशावाद प्रदान गर्दछ ।
यसर्थ श्रावण महिना हाम्रो
संस्कृति र आध्यात्मिक जीवनको एक जीवन्त प्रतीक हो । यसले प्रकृति र पुरुष, धर्म र दायित्व, श्रद्धा र समर्पणबीचको सन्तुलन सिकाउँछ । शिवको आराधनाले हामीलाई वैयक्तिक उन्नति सम्भव हुन्छ । यो महिनामा गरिने कर्मले समाज र संस्कृतिको पनि उन्नयन गराउँछ । अतः श्रावण महिना श्रद्धा, भक्ति, सौन्दर्य र सद्भावको अनुपम संगम हो । जसको संरक्षण र अभ्यास हामी सबैको दायित्व हो ।
विनीत
कैलाश दाहाल
जन्मस्थान :- दिम्मापातेल, ऐसेलुखर्क गाउँपालिका, खोटाङ जिल्ला
हालको वासस्थान :- कुमारीगाल, काठमाडौं
सम्पर्क नम्बर: ९८४१३१६०९७
इमेल ठेगाना: kailash.dahal००@gmail.com
२०८२, श्रावण






