सिन्धुपाल्चोक। ‘मासिक सय अभियान नेपाल’ अहिले बाह्रबिसे क्षेत्रका विद्यार्थीहरूको सारथि बनेर उभिएको छ । सामाजिक भावनाले प्रेरित यस अभियानले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ र ९ का विद्यार्थीहरूलाई स्टेशनरी, विद्यालय पोशाक तथा अन्य शैक्षिक सामग्री उपलब्ध गराउँदै सहयोग गर्दै आएको छ ।

यसअघि अभियानले बाह्रबिसे–८ स्थित सिताराम आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीलाई स्टेशनरी सामग्री र विद्यालय पोशाक उपलब्ध गराएको थियो । यस वर्ष पनि सिताराम आधारभूत विद्यालय घुँडे र हिमचुली आधारभूत विद्यालय चुल्ठीका सम्पूर्ण विद्यार्थीका लागि स्टेशनरी सामग्री तथा खेलकुदका सामाग्री व्यवस्था गरिएको बाह्रबिसे नगरपालिकाका प्रवक्ता बिमल पौडेलले जानकारी दिनुभयो ।

स्थानीय गोविन्द पौडेल मार्फत सम्पर्कमा आएपछि अभियानका अध्यक्ष विकास श्रेष्ठले यहाँका विद्यार्थीहरूको अवस्था बुझेर सहयोग गर्न तत्परता देखाउनुभएकोमा खुसी लागेको पौडेलको भनाइ छ ।
अध्यक्ष श्रेष्ठले आगामी दिनमा पनि यस्तै प्रकारको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । देशभरका दाताहरूबाट सहयोग संकलन गरी गरिब तथा जेहेन्दार विद्यार्थीहरूको शिक्षामा खर्च गर्दै आएको यस अभियानका कारण धेरै विद्यार्थी लाभान्वित भएका छन् ।






