—–
हो म पत्रकार हुँ
म संघीयताको हत्यारा हुँ
कसोरी पनि भने
म समाचार लुकाउँछु
म हुँदै नभएको समाचार लेख्छु
रक्सी, मासुमा र पहेँलो खाममा
शिर झुकाउँछु-निर्देशन मान्छु
मालिक बनाएर दलपतिलाई
आफ्नो विवेक स्खलित गराएर
तलुवा चाट्छु
आफ्नो पक्षधरको पहाड
र
विपक्षको तिल बराबर देख्छु
यसैले म, म संघीयताको हत्यारा हुँ ।
मेरा स्वास्नी, मेरा छोराछोरीका लागि
मेरो पद र प्रतिष्ठाका लागि
दल बदल गर्छु
मेरा मालिकहरुले कता फर्केर मुत्छन्
मुतको रङ्ग कस्तो छ
कुन गौडीमा पस्छन्
लीँड विस्टाउँछन् कि छेर्छन
सबैको अपडेट खवर बनाउँछु
स्यावासीको धाप थाप्छु
मालिकहरुले कालोलाई सेतो भनेँ भने
म थपेर “स्फटिक सेतो” भन्छु
मेरा मालिकले स्फटिकलाई “कालो” भनेँ भने
म अंगार हो, गोल हो भन्छु
मेरो कलमले ओकल्ने मसी र अक्षर
मेरो मालिकको ईशारा हो
हाम्रा र राम्राको पक्षपाती म
यसैले म, म संघीयताको हत्यारा हुँ ।
म मेरालाई अति देवत्वकरण गर्छु
म फरक मत राख्नेलाई राक्षसीकरण गर्छु
वार्गिनिङ गर्छु, मोलतोल गर्छु
कमाउन लागेको हुँ म
गुमाउन हैन
जसले जे छ त्यही दिन्छ
गरिव, पीडित, दु:खी र आवाजविहीनसँग के हुन्छ
गरिवी, पीडा, दु:ख र मूकता
म कहाँ गरिव हुन चहान्छु र
म पीडित, दु:खी र मूक हुन चहान्न
आदर्शका ठूला कुरा गर्छु
मालिकहरुको राजखानी मोल्छु
उनीहरुबाट संरक्षण पाउछु
सार्वजनिक मञ्चबाट स्यावासीको संवोधन पाउँछु
त्यही आडमा
“बर्दीधारी” “कुर्सीधारीसँग” हिमचिम गर्छु
खुराफात गरेर
प्रिय र परिचित बन्छु
सँगै उठबस गर्छु
मौकाको फाइदा लुट्छु
खाडलमा कुहियोस् संघीयता
बालै भएन म सप्रिए पुग्यो
लाइसेन्स छ मसँग पत्रकारिताको
मन मर्जी जे पनि लेख्न सक्छु
छेपारे हुँ म
यसैले म, म संघीयताको हत्यारा हुँ ।
—-
(अपवादका पत्रकारलाई सतत् नमन)






