जीवन एउटा नदीजस्तै बगिरहेको छ। कहिले शान्त, कहिले तेज । कहिले सफा, कहिले धमिलो । तर त्यसको बगाइ कहिल्यै रोकिँदैन । म पनि जीवन नामक नदीको यात्रु हुँ । कहिले आँधीसँग लडेँ, कहिले शान्त धारमा बगेँ । तर प्रत्येक मोडमा एउटा कुरा सिकेँ— स्वतन्त्रता बिना जीवन अधूरो हुन्छ ।

२०४० सालतिरको समय सम्झँदा अहिले पनि हृदय धड्कन्छ । त्यो बेला बोल्ने अधिकार अपराध थियो । विचार व्यक्त गर्नु विद्रोह ठानिन्थ्यो । म जनताको पक्षमा बोले, न्यायका लागि बोले । त्यसको परिणाम स्वरूप चार वर्ष कारागारको अँध्यारो कोठामा बिताउनु¥यो । यो देशमा सत्य बोल्ने अधिकार पुनः जन्मिनेछ भन्ने आस थियो त्यो बेला ।
त्यो जेल केवल इँटाको पर्खाल होइन, विचारको परीक्षा केन्द्र थियो । त्यहाँ मैले धेरै देखेँ, धेरै गुमाएँ । सहयोद्धा इली थामी र वीरबहादुरलाई गैर न्यायिक रूपमा मारियो । उनीहरूको चीत्कार जेलका पर्खाल पार गरेर पनि मेरो कानमा गुन्जिएको थियो । त्यो बेला लाग्थ्यो, स्वतन्त्रता सजिलो छैन, तर अनिवार्य छ ।
कारागारको हरेक बिहान म आफैँसँग संवाद गर्थेँ— ‘तिमी किन बोल्यौ?’ अनि मन भन्थ्यो— ‘किनभने मौनता कायरताको अर्को नाम हो ।’ हरेक यातना पछि मनले भन्थ्यो— ‘तिमीले भोगेको पीडा व्यक्तिगत होइन, यो त जनताको मुक्ति यात्राको एउटा अध्याय हो ।’
चार वर्षपछि म बाहिर निस्किएँ, तर जेलका चिसा भित्ताले मलाई जीवनभरका लागि बदलिसकेका थिए । स्वतन्त्रताको मूल्य मेरो शरीरमा होइन, आत्मामा टाँसियो ।
२०६० सालको समय फेरि एउटा नयाँ अध्याय थपियो । देश परिवर्तनको सपना बोकेका केही थिए । म फेरि आफ्नै बाटोमा हिँडेँ । जहाँ आदर्श र वास्तविकता ठोक्किँदै थिए । परिवर्तनका नाराहरू हावामा गुन्जिरहेका थिए, तर भित्र कतै दम्भ र असहिष्णुता पलाएको थियो ।
माओवादी नाम लिएर परिवर्तनका नारा उराल्नेहरूले नै झुटा आरोप लगाएर मलाई बन्दी बनाए । ३५ दिनको यातना साह्रै बर्बर थियो । जसको वर्णन शब्दले गर्न सक्दैन । त्यो यातना केवल शारीरिक थिएन, मानसिक पनि थियो । रातको दुई बजे, दोलखाको चिल्ङ्खामा, जब चिसो हावा सुसाउँदै हुन्थ्यो, म मेरो अस्तित्वसँग लड्दै हुन्थे ।
त्यो यातनाको घडीमा मैले मृत्यु र जीवन दुवैको स्वाद चाखेँ ।
पीडाको हरेक क्षणमा म सोच्थेँ ‘यो नै परिवर्तन हो त ?’ परिवर्तनका नाउँमा यस्ता अन्याय सहनु परे पनि मैले आफ्नो विश्वास गुमाइनँ । किनभने साँचो परिवर्तन भनेको प्रणालीभन्दा पहिले सोचमा हुन्छ ।
ती ३५ दिनले मलाई फेरि एक पटक मान्छेभित्रको दानव र देवता दुवै देखाए । यातना दिने माझमा पनि केही मान्छे थिए । जसको आँखामा दया झल्किन्थ्यो, तर मुखले बोल्न सक्दैनथे । त्यहाँ मैले बुझेँ, डरले मान्छेलाई कति असहाय बनाउँछ ।
र त्यसपछि जीवन फेरि बग्यो । समयले नयाँ घडी बनायो । २०८२ साल आइपुग्दा म फेरि अर्को लडाइँमा छु ।
यस पटक युद्ध बाहिरी होइन, भित्री छ । शरीर र आत्मा बिचको द्वन्द्व छ । मृत्यु र अस्तित्व बिचको सङ्घर्ष छ ।
छ महिनादेखि म मृत्युसँग पौठेजोरी खेलिरहेको छु । रोगले शरीर थकाएको छ, तर मन अझै जागिरहेको छ । प्रत्येक बिहान आँखा खुल्दा लाग्छ, म जितिरहेको छु ।
हरेक साँझ आँखा बन्द गर्दा लाग्छ— शायद भोलि नखुल्न पनि सक्छ । तर म डराउँदिनँ । किनभने मृत्यु पनि जीवनकै अर्को अध्याय हो ।
मृत्यु नजिकिँदै गर्दा मानिसका मूल्य बदलिन्छन् । अब मलाई ठुला पद वा प्रशंसा चाहिँदैन । केवल एउटा सानो तृप्तिको आवश्यकता छ । म नेपालीको रूपमा बाँचेँ, नेपालीका लागि बोलेँ, र नेपालीकै पक्षमा लेखेँ । र, यसै गरिरहन्छु ।
हरेक बिहान जब घामको पहिलो किरण झ्यालबाट पस्छ, म मुटुमा हात राख्छु र भन्छु , म धन्य छु, आज पनि बाँच्न पाएको छु ।’ त्यो अनुभूति कुनै पुरस्कारभन्दा ठुलो हुन्छ ।
जीवनले मलाई धेरै कुरा सिकायो । अभिव्यक्तिको मूल्य सिकायो, परिवर्तनको पीडा देखायो, मृत्युसँगको खेल खेल्न सिकायो । तर सबैभन्दा ठुलो कुरा बाँच्नको अर्थ बुझायो ।
स्वतन्त्रता बिना बाँच्नु श्वास चल्ने शवजस्तै हो । त्यसैले जबसम्म म श्वास लिन्छु, सत्य बोलिरहन्छु । जबसम्म हृदय धड्कन्छ, अन्यायविरुद्ध लेखिरहन्छु ।
इतिहासले कुनै दिन यी पीडाहरूलाई सम्झिनेछ । सहयोद्धा इली थामी र वीरबहादुरको बलिदान व्यर्थ छैन । उनीहरूको रगतले नै स्वतन्त्रताको फूल फुलाउनेछ ।
( पिस्कर काण्डमा जेलनेल भोगेका, माओवादी युद्धमा अपहरणमा परेका अहिले रोगसँग कुस्ती खेलिरहेका एक योद्धा मेघनाथ पौडेलले सामाजिक सञ्जालमा व्यक्त गर्नुभएको भावमा आधारित )






