काठमाडौँ ।

जेनजी आन्दोलनका वास्तविक अभियन्ता छायामा पारिँदै गएका छन् भन्ने गुनासो दिनप्रतिदिन बढ्दै गएको छ । आन्दोलनका नाममा केही समूह र व्यक्तिहरूले मात्र लाभ उठाएको भन्दै असन्तोष कर्मचारी वृत्तमा तीव्र रूपमा फैलिएको छ ।
हालै सुदन गुरुङले आन्दोलनको नेतृत्व ‘हाइज्याक’ गरेको आरोप लागेका बेला नेपाल सरकारका शाखा अधिकृत गणेश घिमिरेको नाम पनि चर्चामा आएको छ । छोटो समयमा अकुत सम्पत्ति आर्जन गरेको र विगतमा एमाले निकट कर्मचारी संगठनका विवादित नेताका सहयोगीका रूपमा काम गरेको आरोप घिमिरेमाथि लागेको छ । उनी भोला पोखरेल अध्यक्ष हुँदा उनकै नाममा उठौतीमा सकृय भएको एक एमाले निकट कर्मचारीले बताए ।
लामो समय श्रम मन्त्रालय र खुम्बुपासाङल्यामु गाउँपालिकामा कार्यरत रहँदा उनले विभिन्न अवैध माध्यमबाट आर्जन गरेको भन्ने आरोप छ । तर, पछिल्लो समय उनी प्रधानसेनापति र व्यवसायी दुर्गा प्रसाईंसँग खिचिएको तस्बिरका आधारमा आफूलाई ‘जेनजी पुस्ताको प्रतिनिधि’का रूपमा प्रस्तुत गर्न खोज्दै छन् ।
घिमिरेको टोलीले प्रधानमन्त्री सुशीला कार्कीसँग नजिकिँदै गएको भनिए पनि, सरकारका उच्च तहबाट उनलाई विश्वसनीय नेताका रूपमा नहेरिएको स्रोत बताउँछन् ।
घिमिरेले हाल ‘सार्वजनिक प्रशासन रूपान्तरण अभियान २०८२’ गठन गरी संयोजकका रूपमा गतिविधि सञ्चालन गरिरहेका छन् ।
तर, वास्तविक आन्दोलनका अभियन्ताहरू भने पछाडि पारिएको महसुस गरिरहेका छन् । विगतदेखि स्वतन्त्र आवाज उठाउँदै आएका, पटक–पटक प्रहरी नियन्त्रणमा परी संघर्ष गरेका, दलीय कर्मचारी ट्रेड युनियन खारेज गर्न सडकदेखि अदालतसम्म पुगेका, निजामती ऐन सुधार र चक्रीय सरुवाको माग गर्दै आन्दोलन गरेका कर्मचारीहरू अहिले उपेक्षित भएको अनुभव साझा गर्छन् ।
भदौ २३ र २४ गते भएको आन्दोलनमा धेरै युवाले ज्यान गुमाएका थिए भने खर्बौंको सम्पत्ति क्षति भएको थियो । भ्रष्टाचारविरोधी र सुशासनको पक्षमा उठेको यो जनअभियानले मुलुकमा अन्तरिम सरकारसम्म जन्मायो, तर परिणामले अपेक्षा पूरा गर्न सकेको छैन । ‘न दूध डोका दुहिएर अडिएको छ, न पोखिएको उठाएर खान मिल्ने अवस्था छ,’ भन्ने टिप्पणी कर्मचारी वृत्तमा सुनिन्छ ।
स्थायी संयन्त्रका रूपमा रहेको निजामती प्रशासन अझै पुरानै ढाँचामा जकडिएको छ । दल नजिकका ट्रेड युनियनहरूले प्रणालीलाई कमजोर बनाएका छन्, र त्यहीँ सुधारका नाममा नयाँ अवसरवादी पात्रहरू अघि बढेका छन् ।
परिवर्तनका नेतृत्वकर्ता गणेश घिमिरेका बारेमा कर्मचारी वृत्तमा विभिन्न आरोपहरू चर्चामा छन् । उच्च पदस्थहरूसँग बारम्बार भेटघाट, प्रभावशाली व्यवसायीहरूसँग घनिष्ठता, र विदेशीसँग नजिकिने प्रयास गरेको उनलाई अरोप छ । हालै भारतका राजदूत शंकर शर्मासँग दशैंको टीका लगाएको तस्बिर सार्वजनिक भएपछि उनी थप विवादमा आएका छन् ।
कर्मचारीहरूका अनुसार, आन्दोलनमा कुनै योगदान नदिएका, तर फोन, सञ्जाल र पहुँचका माध्यमबाट लाभ लिने यस्ता पात्रहरूले निजामती प्रशासनलाई बदनाम बनाइरहेका छन् । ‘जो भ्रष्टाचारबाट लाभ लिँदै आएका थिए, उहीँ आज सुधारका नाममा अगाडि छन्,’ एक कर्मचारीको भनाइ छ ।
यस्ता विवादित र अवसरवादी पात्रहरूलाई तत्काल सरुवा गरी स्थानीय तहमा पठाउनुपर्ने माग पनि उठ्न थालेको छ । तर निरीह र स्वार्थी उच्च प्रशासकहरू फेरि पनि त्यही पात्रहरूसँग अवसरका खोजीमा नजिकिँदै गएको आरोप कर्मचारी वृत्तमै सुनिन्छ ।
अनेक बलिदान र आहुति दिएर अघि बढेको जेनजी आन्दोलन आज नेतृत्व कब्जा र व्यक्तिगत स्वार्थका खेलमा फसेको देखिँदा, आन्दोलनको मर्म र विश्वास दुबै कमजोर बन्दै गएको टिप्पणी विश्लेषकहरूले गरेका छन् ।






