काठमाडौँ ।

नेपाल सरकारका उपसचिव छविलाल नेपाली विवादित कर्मचारी हुन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएका उनी निजामती सेवा ऐनको धारा १८(१) अनुसार मन्त्रालयले तोकेको कार्यस्थलमा नजाने अटेरी कर्मचारीका रूपमा चिनिन्छन् । उनको व्यक्तिगत सूचना प्रणाली हेर्दा लाभदायक र ‘मालदार’ मालपोत कार्यालय भने उनी कहिल्यै छुटाउँदैनन् ।
पहिले नेपालगन्ज मालपोत प्रमुख भएर बसेका नेपाली पछि टोखा मालपोत सरुवा भए । तर, टोखामा अवैध आम्दानीका सम्भावना न्यून हुने बुझेर उनले बिरामी भएको नाटक गर्दै कार्यालयमै गएनन् । यसपछि उनी डिल्लीबजार मालपोत पुगे । बिरामी भनेर टोखा नगएका नेपाली मन्त्रालयमा ‘भेटी चढाएको’ चर्चासँगै डिल्लीबजार मालपोत हाजिर भए ।
डिल्लीबजारमा बस्दा राजपरिवारका विवादित जग्गा बिचौलियासँग मिलेर व्यक्तिगत नाममा गराएर चार करोड रुपैयाँ भन्दा बढी अवैध आर्जन गरेको गम्भीर आरोप उनैमाथि लागेको थियो । उनको अहिलेको काठमाडौँमा घरजग्गा र बिलासी जीवन हेर्ने हो भने पनि त्यसको पुष्टि हुन्छ । उनीबिरुद्ध अकुत आर्जनमा उजुरी पनि परेको छ ।
अवैध आर्जन र विवादको घटना सार्वजनिक भएपछि सामान्य प्रशासन मन्त्रालयले उनलाई कारबाही स्वरूप सरुवा ग¥यो र अछामको नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठायो ।
तर उनी अछाम गएनन् । तीन महिना सिंहदरबार वरिपरि हिँडिरहे, सेटिङ्गमा लागिरहे । नगरपालिका भने रिक्त रह्यो ।
त्यहीबीच, बिचौलियामार्फत बीस लाख खर्च गरेर उनी फेरि भूमि सुधार मन्त्रालय फिर्ता भएको उनका समकक्षीहरू बताउँछन् । भूमि सुधार मन्त्रालय फिर्ता हुने बित्तिक्कै उनी कास्की मालपोत पोखरा पुगे त्यो पनि सामान्य प्रशासन मन्त्रालयले नचाहँदा नचाहँदै उनी पोखरा पुगेका हुन् ।
पोखरा पुग्दा पनि उनले बिचौलियासँग प्रसिद्ध ‘लिचीबारी’ जग्गा मिलाइदिने प्रतिबद्धता जनाएको बताइन्छ । त्यही कारण शक्तिशाली समूहको दबाबमा उनी त्यहाँ सरुवा भएका थिए । तर पुनः विवाद बढेपछि उनलाई सामानय प्रशासन मन्त्रालयले बर्दियाको ठाकुरद्वारा नगरपालिका सरुवा गरिदियो । तर त्यहाँ पनि उनी गएनन् । नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएर तनाव झेलिरहँदा उपसचिव नेपाली भने सिंहदरबारमै ‘सेटिङ कक्ष’ चहारिरहेका थिए ।
पछिल्लो पटक उनले बिचौलियाको जालो र कर्मचारी संगठनका केही नेताहरू प्रयोग गरेर पुनः भूमि सुधार मन्त्रालय फर्किएको स्रोत बताउँछन् । एक दल निकट कर्मचारी संगठनको महासचिव प्रयोग गरेर नेपालीको भूमि मन्त्रालय सरुवा भएको स्रोतले बतायो । ती नेताको काठमाडौँको खर्च व्यवस्थापन गर्ने शर्तमा उनले भूमि पठाएको चर्चा छ ।
उनी फेरि एक पटक उपत्यकाका लाभदायक मालपोत कार्यालयहरू विशेषगरी भक्तपुर,साँखु,लतिलपुर वा कलंकी मालपोत कार्यालय जाने योजनामा लागेको स्रोतले जानकारी दियो । केही दिनमा ती मध्येका मालपोत कार्यालयमा सरुवा भए अन्यथा नमाने हुने एक कर्मचारीले बताए । डिल्लीबजार मालपोतको पुरानो स्वाद पुनः पाउने दाउमा उनी भूमि सुधार मन्त्रालय गएका हुन् ।






