सिन्धुपाल्चोक ।

नेपाली काँग्रेस सिन्धुपाल्चोकले आगामी निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ। जिल्ला कार्यसमितिले सार्वजनिक गरेको नामावलीअनुसार जिल्ला सभापति जंगबहादुर लामाको नाम दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ सिफारिस गरिएको हो।
केन्द्रीय कार्यसमितिको परिपत्र तथा पार्टी विधानको धारा ३२ (८) बमोजिम बसेको जिल्ला तथा क्षेत्रीय कार्यसमितिको बैठकले सभापति लामालाई दुवै निर्वाचन क्षेत्रका लागि उपयुक्त उम्मेदवारका रूपमा अघि सारेको जिल्ला कार्यसमितिले जनाएको छ।
जिल्ला कार्यसमितिका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, युवा नेता महेन्द्र लामा र जिल्ला सभापति जंगबहादुर लामाको नाम सिफारिस गरिएको छ।
त्यसैगरी, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को क्षेत्रीय कार्यसमितिले पनि सभापति लामालाई प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सिफारिस गरेको छ। क्षेत्र नं २ बाट वंशलाल तामाङ, विकास तामाङ, राधिका पौडेल, निमा लामा लगायत १६ जनाको नाम सिफारिसमा परेको छ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को समानुपातिकतर्फ डा प्रेमध्वज लामा, दोर्जे लामा, बलदेव तिमल्सिना सहित १२ जनाको नाम सिफारिस गरिएको छ। क्षेत्र नं २ को समानुपातिकतर्फ शिवबहादुर सुनार, सानुमाया हिमालय र लक्ष्मी सुनारको नाम समावेश छ।
यस्तै, राष्ट्रिय सभातर्फ क्षेत्र नं १ बाट हरिशरण श्रेष्ठ सहित पाँच जनाको नाम सिफारिस गरिएको छ भने क्षेत्र नं २ बाट राजेन्द्रमान ताल्चाभँडेल सहित चार जनाको नाम सिफारिस भएको छ।
दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ सिफारिसमा परेसँगै सभापति जंगबहादुर लामाको राजनीतिक चर्चा जिल्लामा चुलिएको छ।






