चौतारा ।

चौतारा साँगाचोक गढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठप्रसाद सापकोटाको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएसँगै आज नगरपालिकाले विदाई कार्यक्रम आयोजना गरेको छ । विदाई कार्यक्रममा नगर प्रमुख कृष्णप्रसाद सापकोटा र उपप्रमुख सिता थापाले सापकोटालाई सफल कार्यकालका लागि धन्यवाद दिँदै भावी जिम्मेवारीका लागि शुभकामना व्यक्त गरेका छन् ।
सापकोटा २०८१ कात्तिकमा चौतारा साँगाचोक गढी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा आएका थिए । करिब १४ महिनाको कार्यकालमा उनले नगरपालिकामा सुशासन र पारदर्शिता अभिवृद्धिका लागि विभिन्न सुधारात्मक कामको थालनी गरेका थिए । सुकुटे पर्यटकीय क्षेत्र र साँगाचोक क्षेत्रलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्ने प्रक्रियाको प्रारम्भ, नगरको आन्तरिक रूपमा महत्वपूर्ण मानिएको स्वास्थ्य बीमा कार्यक्रमको विस्तार, चौतारा अस्पतालमा थेरापी कार्यक्रमको सुरुवातजस्ता काम उनका उल्लेखनीय पहलका रूपमा लिइएका छन् ।
तर पछिल्लो समय नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच सम्बन्ध सहज रहन सकेको थिएन । प्रमुख प्रशासकीय अधिकृतको कार्यक्षेत्रमा नगर प्रमुखको हस्तक्षेप बढ्दै गएपछि दुवैबीच सम्बन्ध बिग्रिएको स्रोतको भनाइ छ । सोही कारण सापकोटा नगरपालिकामा बस्न इच्छुक नरहेको बताइन्छ ।
उनको सरुवापछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पुरुषोत्तम घिमिरे चौतारा साँगाचोक गढी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा आएका छन् । नगरपालिकाले नयाँ अधिकृतसँग सहकार्य गर्दै विकास र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरेको जनाएको छ ।






