पिस्करको महादेवस्थानमा चलेको गोली लागेर वीरबहादुर र इली थामीको घटना स्थलमा मृत्यु भयो र जात्रामा भेला भएका अन्य सर्वसाधारण जनताहरू घाइते भए भन्ने कुरा २०४० माघ १ को घटनापछि लगत्तै मैले थाहा पाएँ । यसका बारेमा लेखिएको पुस्तक पिस्कर घटना र प्रतिरोधको कथा पढेपछि मेरा मनमा अनेकन प्रश्नहरू उब्जिन थाले । महादेवथानमा जम्मा भएर नाचगानमा रमाई रहेका निर्दोष मानिसहरूलाई अन्धाधुन्ध गोली चलाएर मार्नुपर्ने कारण के थियो होला ? जात्रामा भाग लिन आएका सर्वसाधारण जनताहरू घाइते हुने गरी गोली किन चलाएको होला भनेर मनमा अनगिन्ती जिज्ञासाहरू उत्पन्न हुन्थे । उनीहरूले गोली चलाएर मान्छे मात्र मारेनन् सहिद वीरबहादुर र इली थामाीको मृत शरीरलाई झन्डै तीन कि.मी. टाढा दाबी खोलासम्म घिसारेर लगे र बिच बाटोमा छोेडी दिए । बीभत्स लास बाटोमा अलपत्र राखेर उनीहरू जनतामा आतङ्क फैलाउन चाहन्थे, पञ्चायतको बिरोध गर्नेहरूको हालत यस्तो हुन्छ भनेर आम मानिसमा त्रास उत्पन्न गराउन यस किसिमको हर्कत गरिएको थियो ।

पञ्चायतले घटाएको यस किसिमको घटनाले पञ्चायती व्यवस्था र तात्कालीन समयका पञ्चहरूप्रति निकै घृणा उत्पन्न गरायो । पञ्चायतले प्रदर्शन गरेको आतङ्कले पञ्चायतलाई बलियो बनाएन अझै झन् कमजोर बनायो र घृणा भाव फैलायो । तात्कालीन समयमा पसुपति शम्सेर जबरा राष्ट्रिय पञ्चायतका सदस्य थिए । पिस्करमा घटेको यस घटनाले उनीप्रति ठुलो आक्रोस पैदा भयो । घटनामा उनको प्रत्यक्ष संलग्नता थिएन तर पनि तात्कालीन रापस भएकाले स्वभाविक रूपमा उनी यो दोषबाट मुक्त हुन सकेनन् । जति बेला पञ्चायती व्यवस्था थियो त्यतिबेला राजा सकृय थिए । व्यवस्था नाम मात्रको थियो सबै कुराको निर्णय दरबारले नै गर्दथ्यो । पञ्चायतको शक्ति केन्द्र दरबार भएकाले उसको निर्देशनमा सबै कुरा हुन्थ्यो । त्यसबेला दरबारबाट नै राजाहरूले पञ्चायती व्यवस्था चलाउँथे जनप्रतिनिधिमूलक संस्थाहरू थिए तर ती नाम मात्रका थिए । पञ्चायती व्यवस्थाका रक्षक र त्यस व्यवस्थाका जनप्रतिनिधिसमेत भएकाले यसको नैतिक जिम्मेवारी भने पसुपति शम्सेरहरूले लिनुपर्ने बाध्यता थियो ।

तात्कालीन दरबारको निर्देशनमा पञ्चायतलाई टिकाउन पिस्कर, छिन्ताङ, हर्रेबर्रेलगायतका सयौँ काण्डहरू घटाइयो । पिस्कर काण्डमा त्यहाँका निर्दोष थामी जातिका मानिसहरू मरिए । उनीहरूमा चरम गरिबी र अभाव थियो । आफू र आफ्ना परिवारको पालनपोषण गर्न उनीहरूलाई हम्मेहम्मे हुन्थ्यो । वर्षभरि दुःख गरेर चाडबाड मनाउँथे । कामबाट फुर्सद निकालेर खास समयमा जात्रा इष्टमित्रहरू सँग भेटघाट गरेर खुसी मनाउने र मिठो मसिनो खानेबाहेक उनीहरूलाई अरू चासो थिएन । देशको राजनीतिक व्यवस्था र त्यसले पारेको प्रभावका बारेमा पनि कुनै जानकारी थिएन । व्यवस्था विरोधी कुनै कार्य नगरेका उनीहरूमाथि यति ठुलो दमन किन गरियो होला भन्ने कुरा पनि मेरो बाल्यकालको मानसपटलमा थियो तर मैले सोचे जस्तो अवस्था त्यहाँ रहेनछ । त्यस ठाउँका मानिसहरूमा त्यतिबेलादेखि नै परिवर्तनको भोक सुरु भइसकेको रहेछ । उनीहरूले गाउने गीत, प्रदर्शन गर्ने नाटकलगायत सबै साँस्कृतिक कार्यक्रमहरू प्रगतीशल तथा जनवादी हुने गरेको कुरा पछि थाहा भयो ।
२०४० साल माघ १ गते महादेवस्थानमा भेला भएर गरिएका साँस्कृतिक कार्यक्रममा जनवादी गितहरू गाइएका थिए । अन्य प्रहर्शनहरू पनि प्रगतिशिल तथा जनवादी नै थियो जुन कुरा पञ्चायतकालीन शाषकहरूका लागि सह्य भएन । पञ्चायती व्यवस्थाको धरातल कमजोर बन्दै थियो । त्यो व्यवस्थाको जग कमजोर भइसकेको कुरा उनीहरूले जनमत सङ्ग्रहमा नै थाहा पाइसकेका थिए । २०३६ सालमा भएको जनमत सङ्ग्रहमा पञ्चायतको हाराहारीमा बहुदलको पक्षमा मत प्राप्त हुनुुले आफ्नो सत्ताको आयु छोटिँदै गएको कुरा उनीहरूले राम्रै गरी जान्ने मौका पाए । जनमत सङ्ग्रहको परिणामबाट अत्तालिएको पञ्चायतले जनताका हरेक गतिविधिहरूलाई नजिकबाट हेरिरहेको थियो । पिस्करमा लागेको जात्रा समान्य जात्रा मात्र रहेनछ भन्ने कुरा मैले पनि धेरै पछि मात्र थाहा पाएँ ।
२०३६ को जनमत सङ्ग्रह हुँदा म १३ वर्षको मात्र थिएँ । उमेरले कलिलो भए तापनि बहुदलको पक्षमा उभिनु पर्छ भन्ने चेत ममा पनि त्यतिबेला नै आइसकेको थियो । जनमत सङ्ग्रहमा पञ्चायतको पहेँलो र बहुदलको निलो चिह्न थियो । पञ्चहरूले पहेँलो र बहुदलवादीहरूले निलो चिन्हको प्रयोग गर्दथे । पहिचान स्वरूप प्रयोग हुने यी चिह्नहरूमध्ये म पनि निलो कपडाको टुक्रा सिउरेर बहुदलको पक्षमा प्रचारप्रसार गर्दै हिँड्न थालेँ । मलाई अरू धेरै कुरा थाहा नभए पनि पढ्ने विद्यार्थी र युवाहरू बहुदलमा लाग्नुपर्छ भन्ने बुझेको थिएँ । मैले निलो कपडा सिउरेर चुनाव प्रचार गरेको कुरा मेरो बुवालाई मन परेको थिएन । निलो कपडाको सङ्केत मैले प्रयोग गर्दा मेरो बुवालाई उहाँका सहपाठीहरूले आलोचना गरेका थिए । मेरो बुवा खिलबहादुर देउजा तालामाराङको तात्कालीन पूर्वप्रधानपञ्च भएकाले उहाँ र उहाँका आफन्तहरू सबै पञ्चायतको पक्षमा लाग्नुपर्छ भन्ने ठान्थे । मैले सिउरेको निलो कपडाको टुक्रामा बुवाको आँखा घरिघरी पथ्र्र्यो र अनुुहारको आकृतिमा परिवर्तन आउँथ्यो । त्यसबाट थाहा हुन्थ्यो कि निलो सङ्केतको कपडाको टुक्रा मैले नसिउरिए हुन्थ्यो भन्ने कुरा बुवालाई लागेको थियो । मैले बुवाको आशय बुझेर पनि अटेर गरेँ । मेरो जीवनमा त्यो नै परिवार भित्रबाटै सुरु गरेको राजनीतिक विद्रोह थियो । त्यहीँबाट मैले आफ्नो राजनीतिक जीवनको यात्रा तय गरेँ । जुन यात्रा मेरा लागी निकै कठिन र चुनौतिपुर्ण बन्दै गयो ।
मैले करीब २० वर्ष अर्थात् दुई दशक पारिवारिक विद्रोहमा नै बिताएँ । यो बिचमा अर्थात् २०४९ सालको निर्वाचनमा म गाविस अध्यक्षको उमेद्वार बनेँ । त्यतिबेला मेरो निजी इच्छाले म उमेद्वार बनेको थिइनँ । म उमेद्वार बन्दा मेरो उमेर २४ वर्षको मात्र थियो, त्यो उमेर व्यावहारिक र कानुनी दुवै हिसाबले उपयुक्त थिएन । त्यतिबेलाको कानुनमा गाविस अध्यक्षको उमेद्वार बन्न २५ वर्ष पूरा भएको हुनुपर्ने थियो । एकातिर सरकारी स्थाई शिक्षकको जागिर थियो अर्कातिर उमेरसमेत नपुुगाकाले म उमेद्वार बन्न योग्य थिइनँ तर पनि पार्टीको निर्देशनको पालना गर्न बाध्य भएँ । निर्वाचनमा उमेद्वार बनेपछि पनि बिपक्षीहरूले दावीविरोध गरेको भए मेरो उमेद्वारी कायम हुने थिएन । तेसो भएको भए न रहन्थ्यो बाँस, न बज्थ्यो बाँसुरी । यस्तो अवस्थामा उमेदवार बनियो र निर्वाचन जितेर २५ वर्षको उमेरमा गाविस अध्यक्ष बनियो । त्यसपछि त झनै घरभित्रको समस्या बल्झिन थाल्यो । घरको जेठो सन्तान कमजोर आर्थिक अवस्था भएका बेला नि.मा.वि..को स्थाई जागिर छोडेर निर्वाचनमा उठ्ने कुरा कम चुनौतिपूर्ण थिएन । त्यसले गर्दा झनै घरमा कलह झगडा र भाँडभैलो भइरह्यो । पारिवारिक विद्रोहकै बिचमा पाँच वर्ष बित्यो । मेरो राजनीतिक जीवनको यो सानो अंशको चर्चा गरेर यहाँ पाठकलाई मैले मेरो इतिहास पढाउन खोजेको होइन । म जस्ता हजारौँ कार्यकर्ताहरू यी र यस्तै घटनाबाट प्रभावित भएर कम्युनिस्ट बने ।
२०३६ सालको जनमत सङ्ग्रहले मलाई नयाँ राजनीतिक चेत दियो र म आज एमालेको कार्यकर्ताको रूपमा बाँचिरहेको छु । म जस्ता हजारौँ मानिसहरू पिस्कर, छिन्ताङ, हर्रेबर्रे जस्ता आन्दोलनले जन्माएको थियो । तिनै मानिसहरू आज सत्तामा छन् । त्यतिबेलाको भरभराउँदो पञ्चायत आज अवशेषको रूपमा मात्र बाँकी छ । एउटा सानो झिल्को आगोले सिङ्गो वन डढाउँछ भन्ने कुरा बुझेका पञ्चहरूले पिस्करमा देखिएको झिल्कोमा पानी खन्याउन वीरबहादुर र इली थामीको हत्या गरेका थिए । तथापि उनीहरूको प्रयास निर्रथक भयो र म जस्ता हजारौँ कार्यकर्ताहरू यही आन्दोलनमा जन्मिए, हुर्के बढे र आज पनि पिस्करले देखाएको गोरेटोको यात्रामा छौँ ।
(बासु अधिकारीद्वारा सम्पादित भर्खरै प्रकाशित पिस्कर ऐतिहासिक जनविद्रोह पुस्तकवाट साभार )






