प्रिय छोरा, आरामै छौ भन्ने आशा छ। निर्वाचनको माहोलले गाउँ र सहर दुबै छोइसकेको होला। पहिले कलेजको पढाइमा ध्यान दिनू। यो बीचमा अनेकले अनेक कुरा सुनाउलान्, कसैले भोट नै नदिन भन्ला। तर भोट तिमीले पाएको अधिकार हो । मत कसलाई दिने भन्ने निर्णय तिम्रो आफ्नै विवेकको कुरा हो। तिमी अब चेतनशील नागरिक भइसकेका छौ। सानैमा सहर झरेकाले तिमीलाई गाउँको धेरै कुरा प्रत्यक्ष थाहा नहुन सक्छ। तर केही न केही तिमीले महसुस पक्कै गरेका छौ, छोरा। गाउँमा आमालाई ‘खाना पकाउनुस्’ भनेर बजारबाट छिट्टै घर पुग्न सक्ने अवस्था बनेको छ। यो परिवर्तन हो। बिहान गाउँबाट आमाले गाडीमा राखिदिएको घिउ र रायोको साग साँझ तिम्रो भान्सामा पाक्ने अवस्था छ । तिमीहरू दिनरात इन्टरनेटको पहुँचमा छौ। भिडियो कलले धेरै नियास्रो मेटिन्छ । कोरियामा भएको मामासँग आमाले तीजमा रुँदै कुरा गरेको तिमीले सम्झिएकै छौ ।

हामीले टुकीको जीवन भोग्यौँ। उज्यालो नहुँदै दुई खेप पानी बोक्यौं। अहिले त पानी करेसामै छ, सिँचाइको कुलो खेतमै छ। म घाँस र पानी पुभ्याएर एक घण्टाको बाटो हिँडेर स्कुल पुग्थें। बाटोमा पुल थिएन। ज्यानको बाजी मारेर खोलामा पनुपथ्र्यो । घाम लागे पोल्ने, हावा लागे टिन उडाउने, पानी परे चुहिने स्कुलबाट अक्षर चिनेको हुँ। आइए पढ्न अन्न बोकेर काठमाडौँ जानुपथ्र्यो। अहिले गाउँगाउँमै कलेज छन्। तिमी सहरमा छौ, भाइ गाउँमै बस चढेर स्कुल जान्छ । कसैले बाँच्दैन भनेका बेला तिम्री आमा बिरामी हुँदा गाउँलेहरूले स्टिचरमा बोकेर बाह्रबीसे हुँदै काठमाडौँ पुभ्याएका थियौँ। गाउँमा सिटामोल खान पाउने अवस्था पनि थिएन। अहिले गाउँमै अस्पताल खुलेका छन्, साना रोग गाउँमै उपचार हुन्छन्। बिरामी परे गाडी चढेर सजिलै बजार झर्न सकिन्छ। यो भन्दा ठुला परिवर्तन अरु के होला र ?
हजुरबाले पाउने वृद्धभत्ताले पहिले नुनतेल मात्रै पुग्थ्यो, अहिले मासिक चार हजार पुगेछ। आमाले बारीभरि तरकारी र गोठमा बाख्रा-भैंसी पालेकी छिन्। एउटा बोका बेचे तिम्रो चार महिनाको खर्च चल्छ। सहरको विषादी मिसिएको तरकारी धेरै नकिन्नु । आमाले ताजा तरकारी गाडीमै पठाउँछिन् । चुनावमा घर जानू, राम्रोसँग गाउँ बुझ्नू । मैले तिमीलाई दुःखका स्मृतिहरू सम्झाएँ। अहिले सहरमा नयाँ नाममा एजेन्डाविहीन, स्वार्थप्रेरित मान्छेहरूको जालझेल र प्रलोभनको खहरे उर्लिएको छ। हावामा हावा नथप्नु, त्यसले आँधी सृजना गर्छ। त्यो आँधीबाट जोगिन गाउँको काम र नाम हेरेर भोट हाल्न फर्किनू, छोरा ।
देशमा अमुक व्यक्ति प्रधानमन्त्री चाहिएको होइन। कुनै एक व्यक्तिलाई प्रधानमन्त्री बनाउन तिमी जस्ता युवाहरूले रगत बगाएका होइनन् । प्रणाली, नीति र विकासका लागि बलिदान भएको हो। जिल्ला विकासमा हुँदा होस् वा प्रदेशमा हुँदा सरेश नेपालले गाउँमा गरेका काम सम्झनू। एमालेले गरेका नीतिगत कामको मूल्यांकन गर्नु। सरेश नेपाल चुनाव हारेका बेला पनि विकासमा पछि नपरेका मान्छे हो। मदन भण्डारी राजमार्गसहित बस्ती छिरेका सडक, गाउँगाउँ जोड्ने पुल, काकाकुल बस्तीमा खानेपानी, विद्यालय र स्वास्थ्यचौकीका भवन यस्ता सयौँ काम भएका छन् । भोलि संसदमा विकास निर्माणका नीति बनाउने मान्छे चाहिन्छ। गाउँ जानेको, गाउँ बुझेको र मानिसको मन बुझेको व्यक्ति चाहिन्छ । त्यो योग्यता सरेश नेपालमा छ। देशकै नेतृत्व लिन सक्ने व्यक्तिलाई छोडेर कामको समिक्षा नगरी नयाँ हावासँग बग्नु हुँदैन, छोरा। मैले आमालाई पनि यही भनेको छु। तिमीले पनि साथीभाइलाई सम्झाउनू ।
उही, तिम्रो परदेशी बुवा






