काठमाडौं । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्यान मार्ने धम्की दिने एक युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बझाङ जिल्लाको थलरा गाउँपालिका–४ घर भएका २० वर्षीय साजन विष्ट (सानु भाइ) लाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार विष्टले ‘सानु भाइ’ नामक फेसबुक अकाउन्टमार्फत पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वमन्त्री दीपक खड्कालाई तुरुन्त रिहा गर्न माग गर्दै पोस्ट गरेका थिए। सोही पोस्टमा उनले माग पूरा नभए वर्तमान प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङलाई गोली हान्ने धम्की दिएका थिए।
उनले काठमाडौंमा एके–४७ जस्ता अत्याधुनिक हतियार भित्रिसकेको र आफ्नो समूहले जस्तोसुकै कदम चाल्ने भन्दै त्रास फैलाउने उद्देश्यले धम्कीपूर्ण भिडियोहरू समेत सार्वजनिक गरेका थिए।
प्रहरीका अनुसार विष्ट विगतमा भारतको बैंगलोरमा बसोबास गर्दै आएका थिए र त्यहाँको एमजी रोडस्थित एक फेन्सी स्टोरमा काम गर्थे। भारत बसाइँका क्रममा पनि उनी विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गर्दै नेपाल सरकारका उच्च पदाधिकारीहरूलाई लक्षित गरी धम्की दिँदै आएका विष्टलाई वैशाख ५ गते काठमाडौंको सिनामंगलबाट पक्राउ गरिएको हो।
उनलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि साइबर ब्युरो, भोटाहिटी पठाइएको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।







