काठमाडौँ। गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै जिम्मेवारी सम्हालेको समयदेखि इमान्दारीपूर्वक काम गर्दै आएको उल्लेख गरेका छन्।
गुरुङले पछिल्लो समय आफ्नो नाम जोडिएर उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएको बताएका छन् । उनले पदभन्दा ठूलो कुरा नैतिकता भएको र जनविश्वास नै सबैभन्दा ठूलो शक्ति हुने उल्लेख गरेका छन्।
उनका अनुसार देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग बढिरहेका बेला सार्वजनिक जीवन स्वच्छ हुनुपर्ने आवश्यकता औंल्याएका छन्। साथै, उनले आफ्ना कारण सरकारमाथि कुनै शंका नआओस् र “conflict of interest” नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको स्पष्ट पारेका छन् ।
गुरुङले आफूले नैतिक जिम्मेवारी पूरा गरेको दाबी गर्दै अब नागरिक, सञ्चारकर्मी र युवाहरूलाई सत्य, इमान्दारी र आत्मशुद्धिको बाटोमा अघि बढ्न अपिल गरेका छन्। उनले परिवर्तन चाहनेहरूले त्याग र नैतिक साहस देखाउनुपर्ने समेत बताएका छन्।
यस घटनालाई राजनीतिक वृत्तमा नैतिकताको उदाहरणका रूपमा हेरिएको छ भने आगामी दिनमा यसको प्रभावबारे चासो बढेको छ।







