सिन्धुपाल्चोक — हेलम्बु गाउँपालिकाले पालिकास्तरीय पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्दै खोप कार्यक्रमलाई अझ प्रभावकारी र दिगो बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
गाउँपालिकाको स्वास्थ्य शाखाद्वारा आयोजित कार्यक्रममा सामाजिक विकास समिति संयोजक छिरिङ लामाको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत बेनीबहादुर मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो। वडा नम्बर २ का अध्यक्ष पेम्बा लामा विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख मुकेश भट्टराईले पूर्णखोप अभियानको प्रगति र उपलब्धिबारे जानकारी गराउनुभएको थियो भने जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका जनस्वास्थ्य अधिकृत निशान सापकोटाले नियमित खोप सेवाको पहुँच विस्तार र समुदायको सक्रिय सहभागितालाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।
पूर्णखोप सुनिश्चितता घोषणासँगै गाउँपालिकाभित्रका सातवटै वडाका स्वास्थ्यचौकी प्रमुख, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, खोप सहजकर्ता तथा अभियानमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो।
प्रमुख अतिथि मोक्तानले खोप कार्यक्रम बालबालिकाको स्वास्थ्य सुरक्षाको आधारस्तम्भ बनेको उल्लेख गर्दै स्वास्थ्य संस्थाहरूका समस्या समाधानमा गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले पूर्णखोप घोषणा केवल उपलब्धिको सूचक मात्र नभई यसको दिगोपना कायम राख्नु अझ महत्वपूर्ण चुनौती रहेको धारणा राख्नुभयो।
वडा अध्यक्ष पेम्बा लामाले समुदायस्तरमा स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित हुन नदिन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो।
कार्यक्रमका अध्यक्ष छिरिङ लामाले गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर खोप सेवाको गुणस्तर र पहुँच विस्तारमा निरन्तर काम गरिरहेको जानकारी दिनुभयो। उहाँले पूर्णखोप सुनिश्चितताको उपलब्धिलाई दीर्घकालीन रूपमा कायम राख्न स्वास्थ्यकर्मी, जनप्रतिनिधि, स्वयंसेविका र समुदायबीचको सहकार्य अझ मजबुत बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
हेलम्बु गाउँपालिका सिन्धुपाल्चोकमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने तेस्रो स्थानीय तह बनेको छ।







