सिन्धुपाल्चोक । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाले सरकारले लागू गरेको विभेदकारी विज्ञापन नीतिको विरोध गर्दै धर्ना कार्यक्रम आयोजना गरेको छ। शाखाले उक्त नीति तत्काल फिर्ता लिन माग गर्दै संकलित हस्ताक्षर सम्माननीय प्रधानमन्त्रीसमक्ष पठाएको जनाएको छ ।
शाखा अध्यक्ष ध्रुव दंगालको नेतृत्वमा सञ्चारकर्मीहरू जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको प्रवेशद्वार अगाडि भेला भई ब्यानरसहित धर्नामा बसेका थिए । धर्नापछि पत्रकार महासंघले विज्ञापन नीति सच्याउन माग गर्दै संकलित हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयमा पठाएको हो ।
महासंघका अनुसार गत जेठ महिनामा आयोजित शाखाको ३०औँ साधारण सभाका अवसरमा हस्ताक्षर संकलन अभियान सञ्चालन गरिएको थियो। अभियानमार्फत संकलित हस्ताक्षर सरकारलाई बुझाएर विज्ञापन नीतिप्रति सञ्चार क्षेत्रको असन्तुष्टि औपचारिक रूपमा व्यक्त गरिएको शाखाले जनाएको छ ।
पत्रकार महासंघले विज्ञापन वितरणमा समानता, पारदर्शिता र निष्पक्षता कायम हुनुपर्ने माग गर्दै वर्तमान नीति साना तथा मोफसलका सञ्चारमाध्यमप्रति अन्यायपूर्ण रहेको दाबी गरेको छ ।







