बाह्रबिसे ।

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–८ अहिले एउटा विशेष कारणले चर्चामा छ । यहाँका वडाध्यक्ष विमलप्रसाद पौडेलको इमानदार नेतृत्व र जनसेवाप्रति अनवरत समर्पणले गाउँलेहरूमा नयाँ ऊर्जा जगाएको छ ।
जब अधिकांश जनप्रतिनिधि पद, पारिश्रमिक र सवारी सुविधामा बढी केन्द्रित देखिन्छन्, त्यही बेला पौडेलले वडाध्यक्षको हैसियतमा पाउने पारिश्रमिक पनि समाजसेवामा लगाएका छन् ।
उनले वडाको सामूहिक हितका लागि आफ्नै पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराई, जनप्रतिनिधि भनेको जनताको सेवक हो भन्ने भावनालाई व्यवहारमा उतारेका छन् ।
वडाध्यक्ष पौडेलको राजनीतिक यात्रा रोचक छ । उनी राजनीतिमा खासै थिएनन् । यो वडामा विगतमा एमालेले जितेको थियो । उनले प्रतिनिधित्व गर्ने दल काँग्रेस यहाँ तेस्रो थियो ।
मत परिणाममा उनी तेस्रो स्थानमा परे पनि, उनको इमानदारी, नम्र व्यवहार र विकासप्रतिको सोचले गाउँभर विश्वासको वातावरण सिर्जना ग¥यो । त्यसकै परिणामस्वरूप वडावासीहरूले राजनीतिक गणितभन्दा माथि उठेर उनलाई वास्तविक जनसेवकको रूपमा स्वीकार गरे र निर्वाचन जिते ।

जनप्रतिनिधि हुँदा व्यक्तिगत लाभ खोज्ने प्रचलनबीच पौडेलको निर्णय असाधारण छ । उनले वडाको सामूहिक हितका लागि आफ्नै पाँच रोपनी जमिन नर्सरीका लागि निःशुल्क दिएका छन् । त्यही जमिनमा महिला समूहले सक्रियताका साथ बिरुवा उत्पादन गरे । यस नर्सरीबाट उत्पादित बिरुवाले गाउँमा हरियाली त फैलाएको छ नै, महिला समूहका सदस्यहरूलाई आर्थिक आम्दानी र आत्मनिर्भरता पनि दिएको छ ।
‘अध्यक्षले हामीलाई हातेमालो गर्न मौका दिनुभयो, त्यसैले हामी गर्व गर्छौं ।’ एक स्थानीय महिलाहरु यस्तै प्रतिक्रिया दिइन् ।
पौडेलले नर्सरीको उद्देश्य केवल बिरुवा उत्पादनमा सीमित राखेका छैनन् । उनले यसलाई स्थानीय महिला सशक्तीकरण र वातावरण संरक्षणको दीर्घकालीन कार्यक्रमका रूपमा हेरेका छन् ।
प्रतिबद्धता पुरा गर्ने संस्कार पौडेले सुरु गरेका छन् । निर्वाचनका बेला उनले वडाका सबै विद्यालयमा कम्प्युटर उपलब्ध गराउने वाचा गरेका थिए । उनले आफ्नै लगानीमा हरेक विद्यालयमा कम्प्युटर र प्रिन्टर लगिदिएका छन् ।
आज ती विद्यालयहरूमा विद्यार्थीहरू कम्प्युटर चलाउन सिकिरहेका छन् । शिक्षा क्षेत्रमा गरिएको यो लगानीले ग्रामीण विद्यार्थीहरूमा डिजिटल साक्षरताको नयाँ बाटो खोलेको छ ।
त्यस्तै, उनले वडाबाट प्राप्त हुने आयलाई पनि शैक्षिक सुधारका लागि खर्च गर्ने निर्णय गरेका छन् । यस अन्तर्गत उनले एक जना अपाङ्ग शिक्षकलाई नियुक्त गरी विद्यालयमा सेवा दिने वातावरण निर्माण गरेका छन्, जुन सामाजिक समावेशीकरणको दृष्टिले निकै महत्त्वपूर्ण कदम हो ।
पौडेलको मूल मन्त्र नै हो, ‘सादगी, सेवा र पारदर्शिता’ । उनी न त आफ्ना भाषणका लागि चर्चित छन्, न त प्रचारका लागि खर्चिलो कार्यक्रम गर्छन् । तर, कामका परिणामले नै उनलाई जनताको मनमा नेता होइन, अभिभावकको रूपमा स्थापित गरेको छ ।
पौडेल भन्छन्, ‘पद भनेको सुविधाको होइन, जिम्मेवारीको स्थान हो । मैले जनताको विश्वासलाई विकास र सेवामार्फत फर्काउने प्रयास गरेको छु ।’
उनको यो भनाइमा राजनीति सेवा हो, शासन होइन भन्ने दर्शन लुकेको छ ।
यसलाई वडाको अनुकरणीय अभ्यासको रूपमा लिन सकिन्छ । वडाध्यक्ष पौडेलले आफ्नो कार्यकालमा कुनै व्यक्तिगत स्वार्थ नहेरी साझा योजना र सामूहिक सहभागितामा आधारित शासन शैली विकास गरेका छन् । उनले बजेटको वितरणदेखि निर्णय प्रक्रियासम्म स्थानीय समुदायलाई सहभागी गराएका छन् । यसले वडाभित्र उत्तरदायित्व र विश्वासको संस्कृति विस्तार गरेको छ ।
पौडेलको नेतृत्वमा बाह्रबिसे–८ मात्र होइन, अनुकरणीय अभ्यास केन्द्र बन्दै गएको छ । उनको कामले अन्य वडाहरूलाई पनि प्रेरणा दिएको छ ।
जब जनप्रतिनिधि पद र शक्ति प्रयोगमा रमाइरहेका छन्, त्यही बेला पौडेलजस्ता नेताहरूले जनताको विश्वासलाई सेवा, इमान र सादगीबाट प्रत्युत्तर दिइरहेका छन् । उनले देखाएका कदमहरूले सदाचारयुक्त शासनको आधार तयार गरेको छ । यो केवल एक वडाध्यक्षको कथा होइन, यो नेपालका जनप्रतिनिधिहरूका लागि दिशानिर्देश सन्देश हो । जनताको मन जित्न भाषण होइन, व्यवहार चाहिन्छ भन्ने उदाहरण हो ।
वडाध्यक्ष पौडेलले सादगी र सेवा भाव राजनीति र नेतृत्वको असली सुन्दरता हो भन्ने प्रमाणित गरेका छन् पारिश्रमिक सेवामा खर्च गर्ने, आफ्नै जग्गा विकासका लागि दिने, शिक्षामा लगानी गर्ने र अपाङ्ग शिक्षक भर्ना गर्ने जस्ता कदमहरूले उनलाई जनसेवाको प्रतिमूर्ति बनाएको छ ।
देश विकास गर्ने कुरा केवल सिंहदरबारमा होइन, वडा स्तरमा पनि सम्भव छ, यदि नेतृत्व सच्चा र मनकारी हुन्छ भन्ने शिक्षा उनले दिएका छन् ।






