स्थानीयवासीसँग ९ बुँदेसहमति भएपछि ३६.५२ मेगावाट क्षमताको ब्रम्हायणी जलविद्युत् आयोजनाको अवरोध हटेको छ ।

दिपु–तेगा–तेम्बाथान ब्रम्हायणी खोला जलविद्युत् आयोजना प्रभावित स्थानीयले विभिन्न १९ बुँदे माग राख्दै केही दिनअघि आयोजना क्षेत्रका सबै निर्माण कार्य रोकिदिएपछि जिल्ला प्रशासन कार्यालयमा आयोजना पक्ष, स्थानीयवासी तथा जनप्रतिनिधि बीच छलफल आयोजना गरिएको थियो।
वडा अध्यक्ष लक्ष्मण दोङ र चन्द्रकाजी लामाको रोहवरमा भएको छलफलपछि ९ बुँदे प्रारम्भिक सहमति गरिएको हो। सहमतिमा आयोजनातर्फबाट सनत कुमार अधिकारी र स्थानीयवासी तर्फबाट निम तार्के शेर्पा तथा निमा वाङ्दी शेर्पाले हस्ताक्षर गरेका छन्।
सहमतिको मुख्य ९ बुँदा
१, सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रम प्रभावित क्षेत्रमा गाउँपालिकासँग समन्वय गरेर स्थानीयको प्रत्यक्ष सहभागितामा सञ्चालन गरिने।
२, दिपु बस्ती संरक्षण कार्य आयोजनाले तत्काल सुरु गर्ने।
३, तेम्बाथान बस्तीको सडक चौडा तथा व्यवस्थित बनाउन आयोजनाले सहयोग गर्ने।
४, कुमजोङ खोला–तेम्बाथान बेलिब्रिज निर्माण गाउँपालिकाको समन्वयमा ब्रम्हायणी हाइड्रो र अपर बलेफी ४६ मेगावाट हाइड्रोको साझेदारीमा सम्पन्न गर्ने।
५, आवश्यक जनशक्ति भर्ती दक्षताको आधारमा सम्भव भएसम्म स्थानीयबाट गर्ने।
६, साङलुङ बस्तीमा बिजुली उपलब्ध गराउने दायित्व आयोजनाले लिने।
७, अघिल्लो सहमति र समझदारीहरू प्राथमिकताका साथ कार्यान्वयन गर्ने।
८, आयोजनामा भइरहेको अवरोध हटाई आजैदेखि काम सुचारु गर्न स्थानीयले सहयोग गर्ने।
९, बाँकी न्यायोचित मागहरू कानुनअनुसार क्रमिक रूपमा सम्बोधन गर्दै जाने।






