प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले समुदायलाई शक्ति–सामर्थ्यले सुदृढ बनाउन सके विपद् व्यवस्थापन स्वाभाविक रूपमा प्रभावकारी बन्ने धारणा व्यक्त गर्नुभएको छ।

सामुदायिक प्रकोप व्यवस्थापन समितिको राष्ट्रिय सञ्जालले काठमाडौंमा आज आयोजना गरेको कार्यक्रममा बोल्दै ई. भट्टले कुनै पनि विपद् उत्पन्न हुँदा खोज तथा उद्धारमा समुदाय नै सबैभन्दा पहिले परिचालित हुने भएकाले स्थानीय तहमै क्षमता अभिवृद्धि अत्यावश्यक रहेको बताउनुभयो।
उहाँका अनुसार समुदायमै आधारित विपद् स्वयंसेवकहरूको तयारी, संगठन र तालिमलाई प्राधिकरणले विशेष प्राथमिकताका साथ अघि बढाइरहेको छ। यसले आपत्कालीन अवस्थामा तत्काल राहत, उद्धार र समन्वय कार्य प्रभावकारी बनाउन सहयोग पुर्याउने उहाँको भनाइ थियो।
कार्यक्रममा नेपाली सेनाले ग्यासजन्य, तेलजन्य तथा शरीरमा आगो लागेमा अपनाउनुपर्ने तात्कालिक नियन्त्रण तथा निभाउने तरिकाहरूको प्राविधिक प्रदर्शन गरेको थियो।
सञ्जालका अध्यक्ष श्यामबाबु कट्टेलको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा तारकेश्वर खैंजडी भजन समूहले विपद् व्यवस्थापनका सन्देश समेटिएको भजन प्रस्तुत गर्दै कार्यक्रमलाई सांस्कृतिक रूपमा समृद्ध बनाएको थियो।






