सिन्धुपाल्चोक ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले)ले सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा होमनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ । जिल्लाभित्र लामो समयदेखि पार्टी संगठन र स्थानीय तहमा सक्रिय श्रेष्ठले यसअघि प्रदेशसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । प्रदेशस्तरमा पराजित भए पनि उनको राजनीतिक संलग्नता, संगठनिक संलग्नता र चुनावी अनुभवलाई एमालेले यसपटक संघीय स्तरमा उपयोग गर्ने तयारी गरेको देखिन्छ ।
श्रेष्ठले जुगल गाउँपालिकाको अध्यक्ष भएर पाँच वर्ष काम गरेका थिए । सो अवधिमा उनले गाउँपालिका महासंघको अध्यक्षको जिम्मेवारी पनि सम्हाले । स्थानीय सरकारको नेतृत्वसँगै विकास निर्माण, सेवा वितरण र स्थानीय राजनीतिमा सक्रिय भएर काम गरेका उनी युवावस्थामै तत्कालीन गाविस अध्यक्षसमेत भइसकेका हुन् । स्थानीय तहदेखि प्रदेशसम्मको यात्रा तय गरिसकेका श्रेष्ठलाई एमालेभित्र अध्ययनशील, नियोजक र संगठनिक अभिवृद्धिमा जोड दिने नेताका रूपमा हेरिन्छ ।
दलभित्र उमेरका हिसाबले समेत उनी युवा नेतृत्वको प्रतिनिधित्व गर्दै आएका छन् । माओवादीसँग विभिन्न चरणमा प्रतिस्पर्धा र संघर्षणपूर्ण राजनीतिक वातावरणबाट गुज्रिएको सिन्धुपाल्चोकको राजनीतिमा श्रेष्ठ माओवादीसँग जमेर भिड्ने नेताका रूपमा पनि चिनिन्छन् ।
आगामी निर्वाचनलाई लक्षित गर्दै एमालेले सिन्धुपाल्चोक–१ मा स्थानीय संरचना, युवा परिचालन, संगठनिक कार्ययोजना र भौगोलिक मत–संयोजनलाई प्राथमिकतामा राखेको छ । सिन्धुपाल्चोक–१ पहिले पनि गठबन्धन र एमालेबीच प्रतिस्पर्धा भएको क्षेत्र हो । यसपटक उम्मेदवार चयनसँगै एमालेले हिमाली र पहाडी भू–भागलाई जोड्ने मतगणनामा आफू बलियो हुने दाबी गरेको छ ।
उम्मेदवारी पाएका श्रेष्ठले निर्वाचनलाई चुनौती र अवसर दुवैको रूपमा हेरिरहेका छन् । स्थानीय तहमा निर्वाचित भएर काम गरिसकेको अनुभव र प्रदेश तहमा प्रतिस्पर्धा गरिसकेको पृष्ठभूमि उनले आफ्नो राजनीतिक परिचयका रूपमा प्रस्तुत गर्दै आएका छन् ।
सिन्धुपाल्चोक एमाले भित्रको उम्मेदवारी चयन प्रक्रियामा विभिन्न नामको चर्चा भए पनि अन्ततः संगठनमा लामो योगदान, स्थानीय पहुँच र चुनावी प्रकृया बुझ्ने क्षमताका आधारमा श्रेष्ठको नाम टुंगो लागेको एमाले स्रोत बताउँछ । जिल्लामा भूकम्पपछिको पुनर्निर्माण, सडक, विद्यालय र स्वास्थ्य पूर्वाधारका सवालमा सक्रियता देखाएका श्रेष्ठले संघीय स्तरमा आवाज बुलन्द गर्ने दाबी गरेका छन् ।






