काठमाण्डौंः आज सूर्योदय नगरपालिका मा स्थानीय विपद व्यवस्थापन सम्बन्धी १ दिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रमको उद्देश्य नगरपालिकाभित्र रहेका स्थानीय विपद व्यवस्थापन समितिका पदाधिकारीहरूलाई विपद व्यवस्थापन सम्बन्धी ज्ञान तथा चेतना अभिवृद्धि गराउनु, विपदको सामना गर्न स्थानीय तहलाई अझ प्रभावकारी र सक्षम बनाउनु, तथा समुदायमा सम्भावित क्षतिलाई न्यूनीकरण गर्नु रहेको थियो।

कार्यक्रममार्फत स्थानीय तहमा विपदका घटनाहरूको सूचना प्राप्त हुनासाथ तत्काल उद्धार कार्य प्रभावकारी रूपमा सञ्चालन गर्न सकियोस् भन्ने हेतुले जनशक्ति विकासमा जोड दिइएको थियो। साथै, समुदायस्तरमा विपद न्यूनीकरण सम्बन्धी नीति तथा कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिएको थियो।
उक्त कार्यक्रम Group for Technical Assistance को समन्वय तथा Myriad USA को आर्थिक सहयोगमा नगरपालिकाको सभा हलमा आयोजना गरिएको थियो। कार्यक्रमको अध्यक्षता नगर प्रमुख श्री दुर्गा कुमार बरालले गर्नुभएको थियो।
कार्यक्रममा जम्मा ३१ जना सहभागीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण नेपाल रेडक्रस सोसाइटी चन्द्रगढी उपशाखाका श्री केदार महतले गर्नुभएको थियो भने कार्यक्रम सम्बन्धी जानकारी Group for Technical Assistance का सचिव श्री भोला नाथ चौधरीले गराउनुभएको थियो।
कार्यक्रमले स्थानीय स्तरमा विपद व्यवस्थापन क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।






