काठमाडौं ।

डॉ. ल्हारक्याल लामा ले आफ्नो सम्पत्ति ५० अर्ब रुपैयाँभन्दा बढी रहेको भन्ने समाचारप्रति गम्भीर आपत्ति जनाउँदै त्यसलाई पूर्ण रूपमा असत्य र भ्रामक बताएका छन्।
हालै एक अनलाइन मिडियामा प्रकाशित समाचारमा आफ्नो सम्पत्तिबारे अतिरञ्जित र कपोलकल्पित विवरण प्रस्तुत गरिएको उल्लेख गर्दै लामाले त्यसप्रति ध्यानाकर्षण भएको जनाएका छन्। उनले उक्त समाचारको आधार र प्रमाण सार्वजनिक गर्न सम्बन्धित मिडियालाई चुनौती दिएका छन्।
“मेरो सम्पत्ति ५० अर्बभन्दा बढी भएको प्रमाणित भएमा राज्यले राष्ट्रियकरण गरे पनि मेरो पूर्ण सहमति रहनेछ,” विज्ञप्तिमा भनिएको छ, “तर प्रमाणित गर्न नसके झुटा समाचार प्रकाशन गर्ने पक्षले कानुनी जिम्मेवारी वहन गर्नुपर्छ।”
लामाले आफूले लुम्बिनी विकास कोष मा उपाध्यक्षको रूपमा कार्य गर्दा तलब–भत्ता नलिई सेवा गरेको दाबी गरेका छन्। साथै, आफ्नो कार्यकालमा कुनै पनि प्रकारको भ्रष्टाचार नगरेको स्पष्ट पारेका छन्।
यसअघि पनि यस्ता आरोप लागे पनि सम्बन्धित निकायबाट अनुसन्धान हुँदा आफू निर्दोष सावित भएको उल्लेख गर्दै उनले पुनः आधारहीन समाचार नलेख्न सञ्चारमाध्यमलाई आग्रह गरेका छन्।
उनले सम्बन्धित मिडियालाई समाचार सच्याउँदै खण्डन प्रकाशित गर्न आग्रह गर्दै अन्यथा कानुनी प्रक्रिया अघि बढाउने चेतावनी दिएका छन्।






