सीमा क्षेत्रमा बढ्दो लागुऔषध समस्याप्रति सांसद डाँगी चिन्तित
काठमाडौँ । निशा डाँगी ले सीमा क्षेत्रमा बढ्दो लागुऔषध प्रयोग र ओसारपसारप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारले कडा नियन्त्रण अभियान सञ्चालन गर्नुपर्ने बताएकी छन् ।
मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले लागुऔषधको समस्या अहिले राष्ट्रिय संकटका रूपमा फैलिँदै गएको उल्लेख गरिन् । निर्वाचन क्षेत्रमा पुग्दा धेरै अभिभावकहरूले आफ्ना छोराछोरीलाई लागुऔषधको कुलतबाट बचाइदिन आग्रह गर्ने गरेको अनुभव पनि उनले सुनाइन् ।
उनले झापा–१ सहित विभिन्न सीमा नाकामा लागुऔषधको पहुँच बढ्दै गएको बताउँदै युवापुस्ता सबैभन्दा बढी जोखिममा परेको धारणा राखिन् । लागुऔषध नियन्त्रण ब्युरोको तथ्यांकअनुसार नेपालमा १ लाख ५० हजारभन्दा बढी प्रयोगकर्ता रहेको उल्लेख गर्दै उनले यसलाई नियन्त्रण गर्न राज्यले विशेष योजना ल्याउनुपर्नेमा जोड दिइन् ।
सांसद डाँगीले ‘से नो टु ड्रग्स’ जस्ता जनचेतनामूलक अभियान देशव्यापी रूपमा सञ्चालन गर्नुपर्ने बताउँदै पाँच वर्षभित्र लागुऔषध प्रयोग शून्य बनाउने लक्ष्यसहित सरकार अघि बढ्नुपर्ने माग गरिन् ।







