काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभाबाट नयाँ नेतृत्व चयन भइसकेपछि महासंघको बाँकी नेतृत्व चयन प्रक्रिया जारी रहेका बेला व्यवसायी मनिषलाल प्रधानले महासंघको कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।
प्रधानले एक अपिल जारी गर्दै महासंघको नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना व्यक्त गर्दै वर्तमान आर्थिक तथा व्यावसायिक चुनौतीको समयमा उद्यमी व्यवसायीका समस्याको समाधान गर्न नयाँ टिम सफल हुने विश्वास व्यक्त गरेका छन्। उनले यसपटक महासंघले युवा दृष्टिकोणसहित सक्षम, कार्यकुशल र ऊर्जाशील नेतृत्व प्राप्त गरेको उल्लेख गर्दै उद्यमी व्यवसायीहरूले नयाँ नेतृत्वबाट ठूलो अपेक्षा राखेको बताएका छन्।
कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै प्रधानले देशभरका नवनिर्वाचित उद्यमी तथा व्यवसायीहरूसँगको छलफलका क्रममा आफूलाई उक्त जिम्मेवारी लिन सुझाव प्राप्त भएको बताए। सोही सुझावलाई आत्मसात गर्दै आफूले उम्मेदवारी दिने निर्णय गरेको उनको भनाइ छ।
उनले आफूसँग ५२ वर्ष लामो पारिवारिक औद्योगिक पृष्ठभूमि रहेको, विसं २०५५ सालदेखि चेम्बर आन्दोलनमा सक्रिय रहँदै आएको तथा ललितपुर उद्योग वाणिज्य संघको प्रथम उपाध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघमा तीन पटक निर्वाचित भई विभिन्न जिम्मेवारी निर्वाह गरिसकेको अनुभव रहेको बताएका छन्।
प्रधानले अहिले उद्योग व्यवसाय आंशिक क्षमतामा मात्र सञ्चालन भइरहेको, बजारमा माग घटेको तथा निजी क्षेत्रको मनोबल कमजोर बनेको अवस्थामा महासंघलाई थप एकीकृत र सशक्त बनाउने आवश्यकता रहेको औंल्याएका छन्। महासंघ तथा जिल्ला, नगर र वस्तुगत संघहरूलाई थप सक्रिय बनाउन स्रोत व्यवस्थापन र कोष परिचालनलाई प्रभावकारी बनाउन आफूले भूमिका खेल्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
व्यावसायिक पृष्ठभूमि, अनुभव, नयाँ नेतृत्वसँगको सहकार्य र चेम्बर आन्दोलनमा लामो संलग्नताका आधारमा चुनौतीपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्षम रहेको दाबी गर्दै उनले आफ्नो उम्मेदवारीमा सहयोग गर्न कार्यकारिणी सदस्य तथा व्यवसायी साथीहरूलाई आग्रह गरेका छन्।







