मेलम्ची — दोस्रो मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिमले उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्न सफल भएको छ। दुई दिनसम्म चलेको प्रतियोगितामा विभिन्न जिल्लाबाट सहभागी खेलाडीहरूलाई पछि पार्दै चौताराले सर्वाधिक स्वर्ण पदक जितेर उपाधिमाथि कब्जा जमाएको हो।
मेलम्ची नगरपालिकाको आयोजनामा सम्पन्न प्रतियोगितामा काठमाडौंको टोखा नगरपालिका वादोकाइ कराते दोस्रो स्थानमा रहँदा काभ्रे तेस्रो बनेको छ। विजेता चौताराले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता टोलीले ३० हजार र तेस्रो टोलीले २० हजार रुपैयाँ नगद पुरस्कार हात पारेका छन्।
प्रतियोगिताको टिम फाइटतर्फ पुरुष समूहमा टोखा नगरपालिका वादोकाइ करातेले बाजी मारेको छ। महिलातर्फ काभ्रे प्रथम, चौतारा द्वितीय तथा हेलम्बु र मेलम्ची संयुक्त तृतीय बनेका छन्।
काभ्रे, मकवानपुर, काठमाडौं, बाह्रबिसे, मेलम्ची, चौतारा र हेलम्बुका गरी २ सय २९ खेलाडीको सहभागिता रहेको प्रतियोगिताले स्थानीय तहमा कराते खेलको बढ्दो लोकप्रियता झल्काएको छ। विभिन्न तौल समूह र विधामा भएको प्रतिस्पर्धाले खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको प्रतियोगिता संयोजक सानुबाबु गिरिले बताए।
समापन समारोहमा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले खेलकुदले अनुशासन, आत्मविश्वास र स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान गर्ने उल्लेख गर्दै यस्ता प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए। उनले स्थानीय प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
प्रतियोगिताले खेलाडीहरूबीच अनुभव आदानप्रदान, स्वस्थ प्रतिस्पर्धा र खेलमैत्री सम्बन्ध विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन्। साथै, यसले सिन्धुपाल्चोकमा कराते खेलको विकाससँगै खेल पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक सन्देश दिएको छ।







