काठमाडौं : सामाजिक सञ्जालमा सक्रिय रहने श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ उदयपुरमा मोटरसाइकल दुर्घटनामा परेका छन्। कटारीबाट बेलकातर्फ जाँदै गरेका साम्पाङ भिडियो खिच्ने क्रममा दुर्घटनामा परेको जानकारी सार्वजनिक भएको हो ।
पार्टी निकट स्रोतका अनुसार साम्पाङले मोटरसाइकल चलाइरहेका बेला एक हातले भिडियो रेकर्ड गरिरहेका थिए। सोही क्रममा सन्तुलन गुम्दा मोटरसाइकल सडकमा पल्टिएको थियो । दुर्घटनापछि पनि उनले घटनास्थलबाटै भिडियो बनाउँदै आफूलाई लागेको चोट देखाएका थिए ।
सामाजिक सञ्जालमा दुर्घटनाबारे व्यापक चर्चा भएपछि साम्पाङले आफू सामान्य अवस्थामा रहेको बताएका छन् । उनले फेसबुकमार्फत “लडेको पनि आफैँ, चोट लागेको पनि आफैँ” भन्दै घटनालाई सामान्य रूपमा लिन आग्रह गरेका छन् ।
यता, श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले अध्यक्ष साम्पाङलाई सामान्य चोटपटक मात्र लागेको र स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताएका छन् । उनका अनुसार साम्पाङ अहिले नियमित गतिविधिमा फर्किसकेका छन् ।
दुर्घटनाले फेरि एकपटक सवारी चलाउँदा मोबाइल वा भिडियो रेकर्डिङ जस्ता गतिविधि कति जोखिमपूर्ण हुन सक्छन् भन्ने बहसलाई सतहमा ल्याएको छ । एक क्षणको असावधानीले दुर्घटना निम्त्याउन सक्ने भएकाले सडक सुरक्षाका नियम पालना गर्नुपर्ने आवश्यकता यस घटनाले उजागर गरेको छ ।







