काठमाडौँ, जेठ २१ — सगरमाथा क्षेत्रमा एक सातादेखि बेपत्ता रहेका अनुभवी पर्वत गाइड दावा शेर्पा जीवित अवस्थामा फेला परेका छन् । जीवित भेटिने सम्भावना अत्यन्त न्यून मानिएको अवस्थामा उनको उद्धार भएपछि पर्वतारोहण क्षेत्रमा खुसी र आश्चर्य दुवै छाएको छ ।
ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका निवासी ५२ वर्षीय शेर्पा जेठ १५ गते सगरमाथा आरोहण सम्पन्न गरी आधार शिविर फर्कने क्रममा हराएका थिए । हिमालयन ट्राभर्स कम्पनीसँग आबद्ध उनले एक पोलिस आरोहीलाई सफलतापूर्वक सगरमाथाको शिखर पुर्याएर फर्कंदै गर्दा सम्पर्क गुमाएका थिए ।
उनको खोजीका लागि सगरमाथाको तेस्रो शिविर आसपास हेलिकोप्टरसहित व्यापक खोजी अभियान सञ्चालन गरिएको थियो । तर लगातारको प्रयासका बाबजुद पनि उनको अवस्था पत्ता लाग्न सकेको थिएन ।
बिहीबार बिहान सगरमाथा प्रदूषण नियन्त्रण समितिका कर्मचारीहरूले खुम्बु आइसफलको क्र्याम्पन पोइन्ट नजिकबाट आधार शिविरतर्फ घस्रिँदै आएको अवस्थामा शेर्पालाई फेला पारेका हुन्। तत्काल उद्धार गरी आधार शिविर ल्याइएका उनलाई प्रारम्भिक उपचारपछि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको छ ।
लामो समय अत्यधिक चिसो र प्रतिकूल मौसममा बिताउँदा उनका हात र खुट्टामा हिउँले क्षति पुर्याएको बताइएको छ । हाल उनको थप उपचार भइरहेको छ ।
पर्वतारोहण क्षेत्रका जानकारहरूका अनुसार सगरमाथाजस्तो जोखिमपूर्ण क्षेत्रमा बेपत्ता भएको एक सातापछि कुनै व्यक्ति जीवित भेटिनु अत्यन्त दुर्लभ घटना हो । त्यसैले दावा शेर्पाको उद्धारलाई धेरैले ‘चमत्कारिक पुनर्जन्म’का रूपमा व्याख्या गरेका छन् ।







