पूर्व राष्टपति विद्या भण्डारीलाई नेकपा एमालेको अध्यक्ष बनाउन सामाजिक सञ्जालमा लेख्ने युवा संघका नेतालाई महासचिव शंकर पोखरेल पक्षधरका नेताले स्पष्टिकरण सोधेका छन् ।

सामाजिक संजाल मार्फत आगामी एघारौं महाधिवेशनबाट पार्टीको नेतृत्व विद्या भण्डारीले गर्नुपर्ने मत राख्दै आएका राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेललाई स्पष्टीकरण सोधिएको हो ।
खरेललाई युवा संघका महासचिव महेश चौलागाँइले स्पष्टीकरण सोधेका हुन् । चौलागाई शंकर पोखरेलको पक्षमा लागेका युवा हुन् । असार २५ गते सोधिएको स्पष्टीकरणमा सामाजिक संजालमा पार्टी नेतृत्वलाई लाञ्छना र मानहानि गर्ने गरेको दाबी गरिएको छ ।
स्पष्टीकरणमा संगठनको धारा ४१ र ४२ (क) र (ख) अनुसार कार्वाही गर्न नपर्ने कारण भौतिक रूपमै उपस्थित भइ पेश गर्न भनिएको छ । अध्यक्ष खरेलले स्पष्टीकरण सोधिएको भोलिपल्ट नै ३ पन्ने जवाफ पेश गरेका छन् ।
उनले महाधिवेशनमा अध्यक्षमा सुमन पुरीलाई समर्थन गरेको तर, कसैलाई अभद्र व्यवहार नगरेको जवाफ फर्काएका छन् । सामाजिक संजालमा नेतृत्व परिवर्तनको कुरा उठाउँदा आफूलाई स्पष्टीकरण सोधिएको दाबी गरे ।
‘मैले आगामी महाधिवेशनबाट विद्या भण्डारीलाई अध्यक्ष बनाउनुपर्छ भन्ने ढंगले फेसबुकमा लेखेको छु’, खरेलले भने, ‘नेतृत्वको विकल्प खोज्नु कुनै अपराध होइन ।’
—-स्पष्टिकरण पत्र नेपाल प्रेसवाट साभार गरिएको हो ———






