नेपालको पहिलो कर्मचारी ट्रेड यूनियनको रुपमा स्थापित निजामती कर्मचारी संगठन, नेपाल सुरुवाती दिनमा कर्मचारीका पिरमार्का, हकहित र सेवा–सुरक्षाका सवालमा अग्रसर रह्यो। तर, स्थापना भएको केही समयमै यो संगठन आफ्नो मूल उद्देश्यबाट च्युत हुँदै गयो र नेकपा एमालेको भातृ संगठनको रुपमा परिणत भयो।

पछिल्ला दुई दशकमा संगठनले कर्मचारीका सवालभन्दा बढी पार्टीका नेताहरूलाई भोट माग्ने, चन्दा उठाउने र गुटगत गतिविधिमा समय खर्च गर्ने काम गरेको देखिन्छ। एमालेभित्रकै गुटगत राजनीतिमा यो संगठन संलग्न रहँदा कर्मचारी आन्दोलन झन् कमजोर बन्दै गएको छ।
हालैको जेन जी आन्दोलनका क्रममा संगठनको कार्यालय नै जलेर नष्ट भयो, तर यसले एउटा विज्ञप्ति समेत निकाल्न सकेन। आन्दोलन सफल भएको भोलिपल्ट मात्र ‘ढाकछोप’का लागि झगडा गर्दै विज्ञप्ति जारी गरियो। संगठनको नेतृत्व अध्यक्ष, उपाध्यक्ष, महासचिवदेखि प्रदेश र शाखास्तरका नेताहरूले संगठनलाई कुन बाटोमा लैजाने भन्ने स्पष्ट दृष्टि प्रस्तुत गर्न सकेका छैनन्।
आजको अवस्थामा संगठन कर्मचारीका हकहितका मुद्दामा होइन, सरुवामा दलाली गर्ने, पैसा असुल्ने र बिचौलियाको भूमिकामा सीमित भएको आरोप व्यापकरुपमा लागिरहेको छ। संगठनका उच्च पदाधिकारीहरू कर्मचारीको दुःख–सुखमा होइन, आफ्नो सुविधा र गुटगत राजनीतिमा बढी व्यस्त देखिन्छन्।
पछिल्ला १० वर्षयता यो संगठन घोर विवादमा फँसेको छ। न त यसले निजामती ऐन ल्याउन पहल गर्यो, न कर्मचारीका सेवा–सुविधामा कुनै प्रगतिशील कदम चाल्न सक्यो। उल्टै बढुवा–सरुवा जस्ता संवेदनशील विषयहरूमा अपारदर्शिता र अन्योल थप्दै लग्यो।
देशभरका कर्मचारीबाट उठाइएको रकमले बनाइएका भवनहरू समेत जेनजी आन्दोलनले जलाएपछि फेरि पैसा उठाएर नयाँ भवन बनाउन दौडधुप गर्ने प्रयास भइरहेको छ। यसले कर्मचारी आन्दोलनलाई अझै कमजोर मात्र बनाएको छ ।
संगठनका अध्यक्ष, उपाध्यक्ष र महासचिवले नैतिक जिम्मेवारी स्वीकार्दै राजीनामा दिने अपेक्षा भए पनि उनीहरू अझै पदमा अडिएका छन्। एमालेको झण्डा बोकेर हिँड्ने तर कर्मचारीको सवालमा मौन बस्ने उनीहरूको प्रवृत्तिले आज कर्मचारी आन्दोलन दिशाहीन बनेको छ।
निजामती कर्मचारी संगठन, नेपाल अहिले नाममा मात्र बाँचेको छ। काममा भने यो “मरेको संगठन” भइसकेको छ। कर्मचारीका आधारभूत समस्या,सेवा सुरक्षा, पारदर्शिता, बढुवा, सरुवा, सुविधाप्रति संवेदनशील बन्नुको साटो संगठनका नेताहरू गुटबन्दी, पद, र पैसामै सीमित हुँदा कर्मचारीहरूको अवस्था दिन प्रतिदिन दयनीय बन्दै गएको छ।
अब नेतृत्वले राजीनामा दिएर नयाँ पुस्तालाई मार्गप्रशस्त नगरेसम्म यो संगठनले कर्मचारीलाई केही दिन सक्ने सम्भावना देखिँदैन।






