नेपालको राजनीतिक इतिहासमा नेपाली कांग्रेसलाई लोकतान्त्रिक संस्कार र संस्थागत व्यवस्थाको आधारभूत स्तम्भका रूपमा हेरिन्छ । तर पछिल्ला वर्षहरूमा दलभित्रको आन्तरिक गुटबन्दी, निर्णय प्रक्रियामा अस्थिरता र नेतृत्वमा निरन्तरता नहुँदा संस्थागत सुदृढीकरणमा चुनौती देखा परिरहेको छ। यस्तै समयमा पार्टी सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोक्ने निर्णय गरे, जसले काँग्रेसभित्र मात्र होइन, अन्य दलका नेताहरूका लागि पनि अनुकरणीय अभ्यास प्रस्तुत गरेको छ ।
देउवाको यो कदम साधारण प्रशासनिक कार्यजस्तो देखिए पनि यसको राजनीतिक र सांस्कृतिक अर्थ गहिरो छ । नेपालमा प्रायः नेताहरूले सबै अधिकार आफूभित्र केन्द्रित राख्ने प्रवृत्ति रहँदै आएको छ । कतिपय दलमा सभापति वा अध्यक्ष अनुपस्थित हुँदा निर्णय प्रक्रिया ठप्प हुने अवस्था पनि देखिन्छ । यस्तो परिस्थितिमा देउवाले जिम्मेवारी बाँडफाँटको स्पष्ट व्यवस्था गरेर संस्थागत निरन्तरता सुनिश्चित गर्न खोजेका छन् । उनले उपसभापति खड्कालाई कार्यवाहक तोक्दा ‘जिम्मेवारीअनुसार काम गर्नुहोस्’ भन्ने भनाइमार्फत नेतृत्वमा विश्वास र संस्थागत अनुशासनको सन्देश दिएका छन् ।
यस्तो अभ्यासले राजनीतिक दललाई व्यक्ति केन्द्रित होइन, प्रणाली केन्द्रित बनाउन मद्दत पु¥याउँछ । दलभित्रको शक्ति हस्तान्तरण, निर्णय प्रक्रियाको पारदर्शिता र नेतृत्वको उत्तरदायित्व यसबाट सुदृढ हुन्छ । नेपाली कांग्रेसले इतिहासमै पहिलो पटक कार्यवाहक नेतृत्वलाई स्पष्ट रूपमा औपचारिक मान्यता दिएको उदाहरण पनि यही हो । यसले पार्टीभित्रको आन्तरिक लोकतन्त्र र उत्तराधिकार संस्कृतिलाई मजबुत बनाउने अपेक्षा गर्न सकिन्छ ।

देउवाले १५औं महाधिवेशन तोकेको अवधिमै सम्पन्न हुने र नियमित ढंगले पार्टीको गतिविधि सञ्चालन हुने घोषणा पनि गरे। यसले नियम र विधानप्रतिको उनको प्रतिबद्धता दर्शाउँछ । नेपाली राजनीतिक दलहरूमा महाधिवेशन ढिलो गर्ने, पदाधिकारीहरूलाई अस्थायी रूपमा दीर्घकालीन बनाउने प्रवृत्ति विद्यमान छ । देउवाले त्यसबाट अलग दृष्टान्त प्रस्तुत गरेका छन् ।
उनले बैठकमा व्यक्त गरेको भनाइ —‘पाँच पटक प्रधानमन्त्री भएँ, तर पाँच वर्ष पनि चलाउन पाइनँ’ भन्ने वाक्य आत्ममूल्यांकनको एउटा दुर्लभ उदाहरण हो । अधिकांश नेताहरू आफ्नो कार्यकालमा देखिएका असफलता वा कमजोरी स्वीकार गर्न हिच्किचाउँछन् । तर देउवाले सार्वजनिक रूपमा आफ्नो अनुभव र सीमाहरू स्वीकार गरेर राजनीतिक संस्कृतिमा इमानदारीको पाठ दिएका छन् ।
नेतृत्वको महानता केवल पदमा रहनु होइन, संस्थालाई सक्षम बनाउने र उत्तराधिकारी तयार पार्ने क्षमतामा निहित हुन्छ । देउवाको निर्णयले यही सन्देश दिएको छ । जब नेताले जिम्मेवारी बाँड्छन्, संस्थाले आत्मनिर्भरता सिक्छ । जब नेतृत्वले आत्मसमिक्षा गर्छ, संगठन सुदृढ हुन्छ ।
यस घटनाबाट अन्य दलका नेताहरूले पनि सिक्न सक्ने कुरा स्पष्ट छ । नेतृत्वको स्थायित्वभन्दा बढी महत्वपूर्ण कुरा संस्थाको निरन्तरता हो । व्यक्तिले होइन, प्रणालीले शासन गर्न सके मात्र लोकतन्त्र बलियो हुन्छ । देउवाको यो कार्यशैलीले नेपाली राजनीतिमा उत्तरदायी, अनुशासित र संस्थामुखी नेतृत्व संस्कारको एउटा सान्दर्भिक उदाहरण स्थापित गरेको छ ।






