काठमाडौं ।
मध्यपूर्व क्षेत्रमा कार्यरत नेपाली श्रमिकको हकहित सुनिश्चित गर्न तथा गैरकानुनी मानव ओसारपसार नियन्त्रणका लागि तुरुन्त पहल गर्न गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदका मध्यपूर्व उप–संयोजक माधब पौडेलले सरकारको ध्यानाकर्षण गराएका छन्।

विदेशी रोजगार नेपाली अर्थतन्त्रको मेरुदण्ड भए पनि अझैसम्म श्रमिकहरूले न्यूनतम सेवा, सुविधा र सुरक्षाको ग्यारेन्टी पाउन नसकेको भन्दै उनले यथाशीघ्र ठोस कदम चाल्न माग गरेका हुन्। पौडेलका अनुसार अवैधानिक ढंगबाट मानव ओसारपसार गर्ने गिरोह अझै सक्रिय रहेकाले धेरै नेपाली श्रमिक ठगी, शोषण र अमानवीय अवस्थाको शिकार बन्न बाध्य छन्। यसले व्यक्तिगत मात्र नभई राष्ट्रको गरिमामा समेत आँच पु¥याइरहेको उल्लेख गरिएको छ।
उनले वैदेशिक रोजगार प्रक्रियामा पूर्ण पारदर्शिता र डिजिटल प्रणाली अनिवार्य गर्ने, गाउँ–गाउँमा जनचेतनामूलक कार्यक्रम विस्तार गर्ने, दलाल र मानव ओसारपसारमा संलग्नलाई कडा कारबाही गर्ने, गन्तव्य मुलुकमा रहेका नेपालीका लागि दूतावास तथा श्रम कार्यालयमार्फत सहज कानुनी संरक्षण सुनिश्चित गर्ने र आपतकालीन अवस्थाका लागि सशक्त श्रमिक सहयोग कोष स्थापना गर्नुपर्ने माग गरेका छन्।
“श्रमिक हकहित सुरक्षित गर्न सक्ने र श्रमिक सुरक्षाप्रति संवेदनशील भएर काम गर्न सक्ने श्रम मन्त्री देशलाई आवश्यक छ,” पौडेलले बताएका छन् ।






