केशब सर ,रेशम सर ( स्व रेशमप्रसाद चौलागॉइ) र म श्री शारदा मा वि बाह्रविसेमा पढाउथ्यौं।हामी तीनै जना
मोहनबिक्रम सिंहले नेतृत्व गरेको पार्टी चौ म ( चौथो महाधिवेशन) को शिक्षक मोर्चामा आबद्द थियौं।पार्टीले बाह्रविसे ,राम्चे ,मानेश्वारा ,धुस्कुन र कर्थलीलाई हाम्रो कार्यक्षेत्र तोकेको थियो ।विशेष कार्यक्रमहरूमा मांखा ,बिन्जेल र ठोकर्पासम्म पनि पुगिन्थ्यो ।त्यति बेला सबै जनसंगठन र पार्टी संगठनहरू निमार्ण र सन्चालन गर्ने तथा भेला प्रशिक्षणहरू आयोजना गर्ने सबै जिम्मेवारी शिक्षकको नै हुन्थ्यो ।पार्टी सदस्यता अहिलेको जस्तो सस्तो थिएन ।लामो समय पार्टीको जनसंगठनमा रहेर काम गरेपछि मात्र बल्ल साधारण सदस्यता दिइन्थ्यो ।संगठित सदस्यता त झन दुर्लभ थियो।रेशम सर र मेरो कोठा केशब सरको घरमा थियो ।हाम्रो जीबिकाको मेलो,पार्टी जिम्मेवारी र बसाइका कारणले पनि हामी संधै संगै हुन्थ्यौं।
२०३७ माघको कुरा हो ।गते चॉही याद छैन।त्यो रात राम्चे तल्लोखण्डमा ;अखिल नेपाल किसान संघ :गठन गर्ने कार्यक्रम थियो।त्यसको पहल पुरानागॉउका क कृष्णबहादुर तिमल्सेनाले गर्नुभएको थियो।हामीलाई क फुलमान थामीको घरमा भेट्ने सूचना थियो ।राती ८ बजेतिर बजार चकमन्न भएपछि हामी तीनभाइ तल्लोखण्ड जान उकालो लाग्यौं।८,३० तिर क फुलमानको घरमा पुगियो ।त्यहॉ ५ ,७ जना थामी साथीहरू जम्मा हुनुभएको थियो।सहजीकरणको लागि क कृष्ण पहिले नै पुगीसक्नु भएको थियो ।हामीले अ ने कि संघको संक्षिप्त इतिहास,नेपालमा भएका किसान बिद्रोहहरू ,किसानको हितको लागि अ ने कि संघको भूमिका र स्थानीय अन्तर बिरोध बारे थोरै कुरा राख्यौं।अनि क फुलमान थामीको संयोजकत्वमा ,क रजमान थामी ,क कालुमानथामी ,क बीरबहादुर थामी र क पिस्कर्नी आमा समेत पांच सदस्यीय अखिल नेपाल किसान संघ टोल कमिटी गठन गरियो र राती ११ बजेतिर साथीहरूसंग बिदा भएर बजार फर्कियौं।
जुनेली रात भए पनि जूनलाई बादलले ढाकेर घुर्मैलो थियो। फुलमानजीको घरभन्दा केही तल पुगेपछि कृष्ण कम्रेड तेर्सो लाग्नुभयो।म केशब सर र रेशम सर ओह्रालो लाग्यौं। बाटो छेउमा नक्कली दिदी ( नक्कली बिकको ) घर थियो ।दिदीको बास्तबिक नाम के थियो कसैलाई थाहा थिएन ।गाॉउमा नक्कली दिदी भनेर चिनिनुहुन्थ्यो।उमेरले पचास कटिसकेकी दिदी नाच्न,गॉउन र मादल बजाउन ज्यादै सिपालु ,फरासिली र रौसे हुनुहुन्थ्यो।दिदीबिना गाॉउघरको रत्यौली गम्कदैनथ्यो ।जात्रामात्राहरू जम्दैनथे।हामी नक्कली दिदीको घरभन्दा तीन कान्ला तल पुगेको थियौं।माथिबाट को मान्छे हो,यति राती हिड्ने भनेर दीदी कराउनु भयो ।बाहिर निस्किएको हुदा हामीलाई देख्नु भएछ क्यार ।हामी नबोली अलि छिटो हिड्यौं ।हामी नबोलेपछि दिदी चोर चोर भनेर चिच्याउनु भयो।त्यसपछि दिदीका परिवारहरू पनि सबै चिच्च्याउन थाले ।अनि गॉउका अरु मानिस पनि जागा भएछन ।गॉउभरी समात समात नछोड नछोडको कोलाहल मच्चियो।एकैछिनमा ढुंगा बर्सिन थाले । हामी बाटो छोडेर बारीको कुनैकुना हिड्यौ ।केही पर सानोओढार जस्तो कोप्चो फेला पर्यो ।त्यही कोप्चामा लेपसियौं।हाम्रो टाउको माथिबाट ८,१० वटा ढुगाहरू भैंमा झरे।
समाज रुपान्तरणको क्रममा अघि बड्दा यस्ता धेरै अप्ठ्याराहरू झेलियो ।कहिले राती हिड्दा बाघसंग जम्काभेट हुन्थ्यो ।कहिले टर्चको ग्लुब जलेर अलपत्र परिन्थ्यो त कहिले अन्धकार रातमा बाटो भुलेर भीरको डीलमा पुगिन्थ्यो ।परिवर्तनको पक्षमा आवाज उठॉउदा पुलिस प्रशासनको तारो होइन्थ्यो ।उग्रवादी र अराष्ट्रियतत्वकोआरोपमा मुद्दा खेपिन्थ्यो।शिक्षक संगठनको बैठक बस्दा प्रहरी हिरासतमा पुगिन्थ्यो ।तर यस्ता ब्यवधानहरूबाट हामी कहिल्यै बिचलित भएनौ ।निरन्तर पार्टी र संगठन बिस्तारमा दृढताकासाथ लागिरह्यौ।क्रमश:






