काठमाडौँ — पाँचपोखरी थाङपाल गाउँपालिका मा ‘पाँचपोखरी कोसेली घर’ उद्घाटन गरिएको छ। बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेल को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष टासी लामा, उपाध्यक्ष सुनिता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईंकेल लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै मन्त्री पौडेलले कृषि क्षेत्रको वर्तमान अवस्थाबारे चर्चा गर्दै उत्पादन वृद्धि, बजारीकरण र आधुनिकीकरणमा अझै चुनौती रहेको बताउनुभयो। उहाँले किसानहरूले भोगिरहेको रासायनिक मल अभावको विषय संघीय तहसँग सम्बन्धित भएकाले प्रदेश सरकारको भूमिका सीमित रहने स्पष्ट पार्नुभयो। साथै, प्रदेश सरकारले सहजीकरण र समन्वय गर्दै आएको जानकारी दिनुभयो।
उहाँले स्थानीय तह तथा किसानलाई कृषि विकासका लागि आवश्यक योजना र कार्यक्रम स्पष्ट रूपमा अघि सार्न आग्रह गर्दै स्थानीय आवश्यकता अनुसार योजनाबद्ध माग आए प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताउनुभयो। पाँचपोखरी क्षेत्रको भौगोलिक अवस्थालाई ध्यानमा राख्दै मौसमी बाली, पशुपालन र पर्यटनसँग जोडिएको कृषि प्रणाली विकास गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो।
विशेष अतिथि तथा गाउँपालिका अध्यक्ष टासी लामाले ‘कोसेली घर’ स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणका लागि महत्वपूर्ण केन्द्र बन्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले खाल्डेखोलामा दैनिक रूपमा अखाद्य वस्तुको चेकजाँच गरी सुरक्षित उपभोग सुनिश्चित गर्ने प्रयास भइरहेको जानकारी दिनुभयो। साथै, स्थापना गरिएको सूचना केन्द्रमार्फत पाँचपोखरी क्षेत्रको पर्यटनसम्बन्धी विवरण, मार्गदर्शन र जानकारी उपलब्ध गराउँदै पर्यटक आकर्षित गर्ने लक्ष्य रहेको बताउनुभयो।
कार्यक्रममा वडा नं. १ का अध्यक्ष आलोककुमार स्याङ्बो, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला निकाय तथा स्थानीयवासीको उपस्थिति रहेको थियो। ‘पाँचपोखरी कोसेली घर’ सञ्चालक समितिका अध्यक्ष रेशम खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कुमार बस्नेतले गर्नुभएको थियो।







