बाग्मती प्रदेश सरकारले प्रशासनिक संरचनामा व्यापक फेरबदल गर्दै मन्त्रालय संख्या घटाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठकले हाल कायम १४ मन्त्रालयलाई घटाएर आठमा सीमित गर्ने निर्णय गरेको हो, जसलाई ‘छरितो र मितव्ययी सरकार’ बनाउने प्रयासका रूपमा हेरिएको छ।
सरकारका प्रवक्ता प्रभात तामाङले आर्थिक भार घटाउने र कामको प्रभावकारिता बढाउने लक्ष्यका साथ यस्तो निर्णय गरिएको बताए। उनका अनुसार मन्त्रालय संख्या धेरै हुँदा अपेक्षित परिणाम नआएकाले संरचनात्मक सुधार आवश्यक ठानिएको हो।
यसअघि विमल वाग्ले नेतृत्वको समितिले पनि मन्त्रालयको संख्या घटाउन सुझाव दिएको थियो। समितिले ‘संख्या बढे पनि सेवा प्रवाहमा सुधार नदेखिएको’ निष्कर्ष निकाल्दै पुनर्संरचनाको खाँचो औँल्याएको थियो।
नयाँ व्यवस्थाअनुसार अब सीमित मन्त्रालयमार्फत सेवा सञ्चालन गरिनेछ भने मन्त्रालयअन्तर्गतका कार्यालयहरू पनि कटौती गरिने भएका छन्। हालका १९८ कार्यालयमध्ये करिब ५० हटाउने तयारीले राज्यको खर्चमा उल्लेख्य कमी आउने अपेक्षा गरिएको छ।
सरकारले चालु खर्च घटाएर पुँजीगत क्षेत्रमा लगानी बढाउने रणनीति लिएको जनाएको छ। नयाँ संरचना आगामी आर्थिक वर्षको सुरुवातसँगै, साउन १ गतेदेखि लागू हुनेछ।
यस्तै, कर्मचारी व्यवस्थापनलाई व्यवस्थित बनाउन ओएनएम सर्वेक्षणका लागि समिति गठन गरिएको छ। साथै, थानकोटस्थित त्रिभुवन पार्क सञ्चालक समितिको अध्यक्षमा चन्द्रबहादुर गोपालीलाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ ।






